Sagun Khabar
बैतडीमा १९ बर्षीया महेश्वरी कांग्रेसको क्षेत्रीय प्रतिनिधि 

बैतडी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बैतडीमा वडा अधिवेशन सम्पन्न भएको छ । वडा अधिवेशनले वडा कार्यसमितिका साथै क्षेत्रीय प्रतिनिधिहरुको समेत चयन गरेको छ । पछिल्लो समयमा नेपाली कांग्रेसमा युवाहरुको आकर्षण पनि बढ्दै गएको छ । 

सोमबार सम्पन्न वडा अधिवेशनबाट १९ बर्षीया महेश्वरी भट्ट (ऐर) क्षेत्रीय प्रतिनिधिमा चयन भएकी छिन् । बैतडीको पाटन नगरपालिका वडा नं २ बाट उनी क्षेत्रीय प्रतिनिधिमा चयन भएकी हुन् । उनले भनिन् ‘राजनीतिमा महिला सहभागिता र युवाको सहभागिता बढाउन कांग्रेसको राजनीतिमा लागेकी हुँ । राजनीति मार्फत समाज परिवर्तनका लागि पहल गर्नेछु ।’

Atrya hospital

जिल्लाका ८४ ओटै वडाबाट चयन भएका क्षेत्रीय प्रतिनिधि मध्ये सम्भवतः सबैभन्दा कान्छी प्रतिनिधिको रुपमा महेश्वरी चयन भएकी हुन् । उनले भनिन् ‘राजनीतिमा युवाहरुको आवश्यकता छ । राजनीतिबाटै युवाहरुका समस्या समाधानका लागि पहल गर्न युवा नेतृत्व आवश्यक पर्दछ । त्यसैले म क्षेत्रीय प्रतिनिधिको रुपमा अगाडि आएकी हुँ ।’

क्षेत्रीय प्रतिनिधिमा चयन भईसकेपछि सगुन खबरसंग कुराकानी गर्दै उनले महिलाले पनि राजनीतिमा अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन आफू क्षेत्रीय प्रतिनिधि भएको बताइन् । उनले भनिन् ‘ग्रामीण क्षेत्रमा अझै पनि महिलालाई चुलोचौकोमै सीमित राख्ने परम्परा छ । त्यो परम्परा तोड्न म राजनीतिमा आएकी हुँ ।’

सोमबार सम्पन्न वडा अधिवेशनले ८४ ओटै वडामा वडा कार्यसमिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधिहरु समेत चयन गरेको निर्वाचन अधिकृत पुुष्पराज जोशीले बताए । अधिकांश वडामा सहमतिकै आधारमा अधिवेशन सम्पन्न भएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०७:५६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update