Sagun Khabar
१४ महिनाको तलव नपाएपछि स–परिवार आमरण अनशनमा 

बैतडी -बैतडीको शिवनाथका शिक्षक करन राना १४ महिना सम्मको तलव नपाएपछि परिवार सहित आमरण अनशनमा बसेकाछन् ।


राना परिवार आइतबार देखी जिल्ला समन्वय समिति बैतडीको कार्यालय अगाडी अनशन बसेका हुन् ।


शिवनाथ गाउँपालिका वडा न. ६ स्थीत हिरापुर माविमा राहत कोटामा कार्यरत शिक्षक राना ६ बर्ष अघि गाउँबाट बिस्थापित भएपछि दशरथचन्द नगरपालिका ४ स्थीत ईश्वर आधारभूत विद्यालयमा काजमा काम गरिरहेका छन् । तर उनले गत १४ महिना सम्मको तलव पाएका छैनन्  ।

Atrya hospital


रानाले जिल्ला शिक्षा समितबाट ईश्वर आधारभूत विद्यालयमै पदस्थापन पाउने आश्वासन पाएपछि पहिला काम गरेको बिद्यालयबाट पदस्थापनको स्वीकृति लिनुका साथै सबै प्रक्रिया पुरा गरे । तर २ बर्ष अघि नै प्रक्रिया पुरा गरेपनि शिक्षा समितिले पदस्थापन गरिदिएको छैन् । 


पिडित रानाले भने ‘मैले पहिला काम गर्दै आएको बिद्यालय रहेको शिवनाथ गाउँपालिकाबाट तलव लिन खोज्दा सरुवाका लागी स्वीकृति दिइसक्यौँ भन्छन् । यता पदस्थापन भएको छैन् । मैले अहिले काम गरिरहेको बिद्यालयमा मलाई अटाउने दरबन्दी समेत खालि छ । तर पदस्थापन गरिदिएको छैन् । म अहिले घरको न घाटको भएको छुँ । त्यसैले अब मरेपनि अनशनमै मरौँला भनेर स–परिवार अनशन बसेका हौँ ।’


करन रानाको पदस्थापनका लागी जिल्ला शिक्षा समितिले पटक–पटक आश्वासन दिएपनि माग पुरा नगरेकाले राना श्रीमति र ४ छोराछोरी सहित आइतबार देखी अनशनमा बसेका हुन् । 


उनको माग सम्बोधन गर्नका लागी पहल गरिरहेको शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए । 


उनले भने ‘उहाँको मागका बिषयमा मैले जिल्ला शिक्षा समिति, दशरथचन्द नगरपालिका र शिवनाथ गाउँपालिका संग कुरा गरेको छु । पुरानै विद्यालयमा गएर उहाँ काम नगर्ने, यता सुरुवा गर्न पहल गर्दा टुंगो लागेको छैन् । हामी प्रयासरत छौँ, केहि दिनमा केहि न केहि विकल्प निकाल्छौँ ।’ 


करन किन जादैँनन् आफ्नो गाउँ
करन राना परिवार आफ्नो गाउँ शिवनाथ ६ कानलीमै गएर बस्न सक्ने र पुरानै बिद्यालयमा अध्यापन गराउन सक्ने अवस्था नरहेको बताउछन् । उनलाई २०७२सालमा गाउँलेहरुबाट ज्यानमार्ने धम्की आएपछि विस्थापित भएका हुन् । उनि परिवार सहित घर छोडेर गएपछि उनको घर समेत जलाएको छ । कहाँ गएर बस्ने ? 


यसरी भयो राना परिवारको उठिबास 
करन रानाको परिवार गाउँमा ठिकै हैसियत बनाएको परिवार थियो । दुवै श्रीमान श्रीमति अस्थाई भएपनि जागिरे थिए । तलवको पैषाले घर धानेका थिए । छोराछोरी पढिरहेका थिए । 


उनको घरमा आउजाउ गर्ने एकजना ठकुरीको छोरीले पाटन नगरपालिका घर भएका एक दलित केटा संग बिहे गरेपछि राना परिवारका अप्ठ्यारा दिन सुरु भए । उक्त अन्तरजातिय विवाह गराउनमा करनकी श्रीमति राजु रानाको हात भएको भन्दै गाउँलेहरुले दैनिक गालिग्लौज, कुटपिट, ज्यान मार्ने धम्की दिन थालेपछि राना परिवार सुरक्षा र न्यायको खोजीमा जिल्ला सदरमुकाम पसे । 


न्यायको खोजिमा राना परिवार सदरमुकाममै बसेको अवस्थामा उनको शिवनाथ ६ कानलिमा रहेको घर जलाएर खरानी बनाइयो । अहिले पनि उनलाई बेला बेलामा ज्यान मार्ने धम्की आइरहन्छ ।


रानाले भने ‘गाउँका सबैभन्दा धनी ब्यक्तिहरुबाट ज्यान मार्ने धम्की आउछ । उनिहरुले हामी श्रीमान श्रीमतिलाई मार्ने र छोराछोरीलाई आफ्ले पालिदिने धम्की दिएकाछन् । मेरो सम्पर्कमा आउने जोकोहीको खोजिनिति गरिन्छ । मेरा ३ दाजु हुन् कसैसंग पनि मेरो सम्पर्क छैन् । कल ट्यापिङ गरि मेरो सम्पर्कमा रहेका ब्यक्तिलाई समेत ज्यान मार्ने धम्की आउछ ।’
मुद्धा हालेका करनका बिषयमा यस्तो भयो फैसला
आफ्नो घर जलाएको भन्दै ५जना बिरुद्ध करनले जिल्ला अदालत बैतडीमा मुद्धा दायर गरे । मुद्धा चलेपछि दलित केटा संग बिहे गर्ने केटीले नै आफुले घर जलाएको स्वीकार गर्छिन् । र कम उमेरका कारण २बर्षमा जेलबाट छुटिन् । यसका साथै ८ लाख रकम समेत करनले पाउने भनिएकोमा पाएका छैनन् ।

उनले भने ‘८ लाख रकम भएपनि ऋण घटाउन हुन्थ्यो । तर मैले पटक–पटक अदालतमा सोधेँ । मलाई नै केटिको बुवाको लालपुर्जा लिएर सम्पति बेचेर असुल गर भन्छन् । म गाउँमा जाने वातावरण त छैन् । कसरी लालपुर्जा ल्याउन सक्छु ।’ मलाई अदालतबाट पनि न्याय पाइएन् । जुन केटिले राजिखुसिमै बिहे गरेको हुँ भनेर प्रहरी, अविभावक सबै सामु स्वीकार गरेकी थिइन् । उनैले केहि पछि किन बयान फेरिन् । उनलाई गाउँलेले बयान बदल्न लगाएका हुन् । करन भन्छन् । 


केटाकेटीले बिहे गरेपछि उनिहरु २महिना संगै बसेका थिए । त्यसपछि केटिको बुवाले केटिलाई फिर्ता ल्याए । केटाकेटिलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थीत गराइयो । प्रहरी र अविभावककै अगाडी उनिहरुले एकअर्का बिना बाँच्न पनि नसक्ने बताए । तर केटालाई केहि दिन प्रहरी हिरासतमा राखेर छुटाइयो भने, केटिलाई उनकै जन्मघर लगिएको थियो । अहिले केटाकेटी संगै छन् या छुटिए करनलाई केहि थाहा छैन् । उनले केटालाई आफुहरुले चिन्दै नचिनेको बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update