बैतडी - बैतडीको शिवनाथ गाउँपालिका ३ स्थित श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमाबाट एक वर्षको अवधीमा ६ हजार ४ सय ७५ जनाले स्वास्थ्य सेवा लिएका छन ।
श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को तथ्यांकअनुसार उक्त अवधिमा सेवा लिनेमा विभिन्न उमेर समूहका नागरिक रहेका छन्। ० देखि ९ वर्ष उमेर समूहका १ हजार २ सय ४५ जना, १० देखि १४ वर्षका ८ सय ६४ जना, १५ देखि १९ वर्षका ४ सय ४२ जना, २० देखि ५९ वर्षका २ हजार ८ सय ९८ जना, ६० देखि ६९ वर्षका ४ सय ७२ जना र ७० वर्षभन्दा माथिका ५ सय ३४ जना रहेका स्वास्थ्य सेवा केन्द्र प्रमुख मोहन कलौनीले बताए ।
यस्तै, अल्ट्रासाउन्ड सेवाअन्तर्गत १ सय ६ जनाले सेवा लिएका छन्। २४ घण्टा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या १ हजार ४ सय ९६ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ। रात्री समयमा स्वास्थ्य सेवा लिने सेवाग्राहीको संख्या २ सय ३७ जना रहेको छ। स्वास्थ्य संस्थाले प्रवाह गरेको सेवामा प्रविधिको प्रयोगसमेत बढ्दै गएको देखिएको छ। स्मार्ट हेल्थमार्फत १ हजार ७ सय ४२ जनाले सेवा लिएको तथ्यांक रहेको छ। विशेषज्ञ चिकित्सकको परामर्श सेवा लिनेको संख्या ६५ जना रहेको स्वास्थ्य सेवा केन्द्र प्रमुख कलौनीले बताए ।
यस्तै, एमडीजीपीबाट सेवा पाएका सेवाग्राही ३७ जना र एमडी/एमबीबीएसबाट सेवा पाएका सेवाग्राही २८ जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ। श्रीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रले सार्वजनिक सुनुवाइ मार्फत सेवा प्रवाहसँगै आर्थिक गतिविधिको विवरणसमेत सार्वजनिक गरेको छ । आर्थिक विवरणअनुसार आम्दानीतर्फ २ लाख ६६ हजार ५५० र खर्चतर्फ ६ लाख १३ हजार ८ सय ५० रहेको स्वास्थ्य सेवा केन्द्र प्रमुख कलौनीले बताए ।
केन्द्रले स्थानीयस्तरमै आकस्मिक, नियमित, विशेषज्ञ तथा प्रविधिमार्फत स्वास्थ्य सेवा लिने नागरिकको संख्या उल्लेख्य रहेको जनाएको छ । ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँगै विशेषज्ञ सेवा र २४ घण्टा सेवा प्रभावकारी बनाउन सके स्थानीय नागरिकलाई उपचारका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता समेत कम गर्न सकिने केन्द्र प्रमुख कलौनीको भनाइ रहेको छ ।




