
गोविन्द पन्त बैतडी - बैतडी जिल्लामा भैंसीमा लाग्ने खरी रोगको संक्रमण पुन देखिन थालेको छ ।
हालसालै मात्रै पनि बैतडीको पाटन नगरपालिका वडा नम्बर १ सकारको विभिन्न स्थानमा यो रोग देखा परेपछि उपचार गरिएको पशु सेवा शाखा पाटनले जनाएको छ । यो रोगको वास्तविक कारक तत्त्वको पहिचान हुन नसक्दा किसानहरूले ठुलो क्षेती भोग्नुपरेको छ । यो रोग खरी, धुलखुले, चौखुरी नामले चिनिन्छ । यो रोग दुधालु बधुवा भैंसीहरुमा जाडो तथा गर्मी समयमा र बेंसी क्षेत्रमा भन्दा पहाडी डांडाकांडामा बढी देखिने गरेको छ । यो रोग लागेपछि पशु दुब्लाउदै जान्छ र उत्पादनमा ह्रास आउछ । यो रोग सबै भन्दा पहिले दार्चुला जिल्लामा १९८८ जनवरी र बैतडी जिल्लामा १९८९ अप्रिलमा देखापरेको बताइन्छ । अहिले पनि यो रोग दार्चुला, बैतडी, डडेल्धुरा सहितका जिल्लाका बिभिन्न स्थानहरुमा बिध्यमान रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले बताए ।
यो रोगका लागेमा - सारकोप्टिक, माइटहरु छाला भित्रसम्म पुग्ने भएकोले अरु भन्दा बढी कष्टदायक हुन्छन । सरोप्टिक माइटहरुले छालाको बाहिरी भागमा आक्रमण गरी छालामा बाक्ला कत्ला बनाउछ । प्राय छालामा पाप्राहरु देखिने र त्यसपछि घाउ हुने , छाला खस्रो र सुख्खा हुने जस्ता लक्षण देखिने गरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बैतडीका प्रमुख पन्तले बताएका छन ।
यस रोगको नेपाल कृषि अनुसन्धान परिषद पशु स्वास्थ्य अनुसन्धान महाशाखा खुमलटार ललितपुरले २०४५ साल देखि अनुसन्धान जारी राखेको छ । तर अहिले सम्म ठोस रुपको उपचार पद्धति भने विकास हुन सकेको छैन । किसानले समय समयमा भेटेरीनरी प्राविधिक तथा पशु चिकित्सक संग सुझाव सल्लाह गरेर आवश्यक परामर्श र सन्तुलित आहारमा ध्यान पुर्याउन सकेमा यो समस्याबाट केही जोगिन सकिने पशु स्वास्थ्य प्राविधिक भुवन राज भट्टराईको भनाइ रहेको छ ।
यो रोगले ज्यादै ग्रस्त भएका गाई भैंसीहरुमा घांस खाने र दूध दिने क्रम भने नरोकिने बताइएको छ । हिउद लागे पछि देखा पर्ने यो रोग बर्षायाम शुरु भएपछि पशुहरु जब हरियो घांस प्रसस्त मात्रामा खान पाउछन्, तब रोगको प्रकोप पनि कम हुदै जाने विज्ञहरुले बताउने गरेका छन ।