Sagun Khabar
बैतडीमा १ लाख बढीको म्याद नाघेको सामग्री बरामद 

बैतडी –बैतडीमा पछिल्लो एक हप्ता यता सञ्चालन गरिएको बजार अनुगमनका क्रममा एक लाख बढीको म्याद गुज्रेको सामग्री बरामद गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानमा बजार अनुगमन गर्दा एक लाख बढीको म्याद नाघेको सामग्री बरामद गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

जिल्लाको सतबाँझ, पाटन, मुस्याचोर, देहीमाण्डौं लगायतका क्षेत्रमा बजार अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा धेरै जसो पसलमा खाद्यान्न सामग्री समेत म्याद नाघेका पाइएका भारतीले बताए । 

Atrya hospital

बजार अनुगमनका क्रममा कतिपय पसलहरु सम्बन्धित निकायमा दर्ता नभएका पाइएका छन् । दर्ता नभएका पसलहरुलाई सम्बन्धित निकायमा दर्ता गर्न समेत अनुगमन टोलीले सुझाएको छ । सूचना अधिकारी भारतीले भने ‘अहिले सम्म हामीले एक सय बढी पसलमा अनुगमन गरिसकेका छौं । अनुगमनका क्रममा म्याद नाघेका सामग्री बरामद गरेका छौं । पेय पदार्थ, कस्मेटिक सामग्रीहरु समेत म्याद नाघेका फेला परेका छन् ।’

शनिबार जिल्लाको पाटनमा बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विभिन्न पसलहरुबाट म्याद नाघेका सामग्री बरामद गरिएको संयुक्त अनुगमन टोलीले जनाएको छ । बरामद गरिएका सामग्री नष्ट गरिने बताइएको छ । 

जिल्ला प्रशासन कार्यालयको समन्वयमा गरिएको बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना विकास समिति, स्वास्थ्य कार्यालय, स्थानीय तहका प्रतिनिधिहरुको समेत सहभागिता रहने गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update