बैतडी–बैतडीको पञ्चेश्वर कांग्रेसका वडा सभापतिहरुले असोज ३ मै पार्टीको वडा अधिवेशन गर्ने जनाएका छन् ।
गएको शनिबार कांग्रेसको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी एकढिक्का नहुँदासम्म कुनै तहको अधिवेशन नगर्ने निर्णय गरेको थियो । तर वडा सभापतिहरुले आइतबार संयुक्त विज्ञप्ती निकालेर असोज ३ मै वडा अधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पञ्चेश्वर गाउँपालिका कार्यसमितिले बिषयान्तर गरी निर्णय गरेकाले आफूहरुलाई मान्य नहुने उनीहरुले विज्ञप्तीमार्फत जनाएका छन् । वडा नं १ का सभापति रमेशराम पार्की, वडा नं २ का सभापति शेरबहादुर चन्द, वडा नं ३ का सभापति गंगादत्त तिवारी, वडा नं ४ का सभापति लोकेन्द्रबहादुर चन्द, वडा नं ५ का सभापति कृष्णसिंह भण्डारी र वडा नं ६ का सभापति बलबहादुर भण्डारीले संयुक्त विज्ञप्ती निकालेर तोकिएकै समयमा वडा अधिवेशन गर्ने जनाएका हुन् ।
यता नेपाली कांग्रेस बैतडीले तोकिएकै समय असोज ३ मा ८४ ओटै वडा अधिवेशन सम्पन्न गर्न सम्बन्धित वडा कार्यसमितिलाई निर्देशन दिइसकेको छ । तोकिएकै समयमा वडा अधिवेशन सम्पन्न हुने बैतडी कांग्रेसका सभापति चतुरबहादुर चन्दले बताए ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशनलाई लिएर संस्थापन र इतर समूहबीच विवाद भने चर्किदै गएको छ । यसको असर स्थानीयस्तरमा समेत पर्दै गएको छ ।




