Sagun Khabar
बैतडीमा औलोको जोखिम बढ्दै 

बैतडी –बैतडी जस्ता पहाडी जिल्लाहरुमा पनि औलो रोगको जोखिम बढ्दै गएको छ । पछिल्ला केही बर्ष यता बैतडीका विभिन्न ठाउँमा औलो रोगका बिरामी फेला पर्न थालेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 
जिल्लाको तल्लोसोराड क्षेत्रका तीन पालिका औलो उच्च जोखिममा रहेका उनले बताए । तराईबाट पहाडमा लामखुट्टे पुगेसंगै पहाडी क्षेत्रमा औलोको जोखिम बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

जिल्लामा यो बर्ष अहिले सम्म औलोरोगका बिरामी फेला नपरेपनि गत बर्ष १४ जनामा औलो पुष्टि भएको थियो । मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केही भागमा औलोको बिरामी फेला पर्ने गरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले बताए । उनले भने ‘तल्लोसोराड क्षेत्रमा विगत ५ बर्ष यता औलोका बिरामी फेला पर्न थालेका छन् ।’

Atrya hospital

एनोफिलिज जातको पोथी जातको लामखुट्टेको टोकाईबाट औलो रोग हुने गर्दछ । यो रोगबाट बच्नका लागि सुत्दाखेरी झुलको प्रयोग गर्ने, घरायसी तथा वातावरणीय सरसफाईमा बिशेष ध्यान दिनुपर्ने जनस्वास्थ्य निरीक्षक दयालले जानकारी दिए । घर वरीपरिका पानी जम्ने खाल्डाखुल्डी पुर्नुुपर्नेमा उनले जोड दिए । 

औलोरोगबाट बच्नका लागि लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update