Sagun Khabar
बेरोजगारीले गर्दा गाउँ खाली, कहाँ गए हल गोरु - हराउदै हलो जुवा

गोविन्द पन्त बैतडी - परम्परागत रूपमा हल गोरुले खेतबारी जोत्ने प्रचलन अहिले पहाडी ग्रामीण क्षेत्रमा बिस्तारै हराउँदै गएको छ ।

किसानहरूले गोरु पाल्न छाडेर गोरुको काम प्रविधिबाट गर्दै आएपछि गाउँ घरमा हल गोरु र हलो जुवा हराउदै गएका हुन । वर्षौँ अघिदेखि तराइमा मात्र चलिआएको खेत जोत्ने प्रविधि पछिल्लो समय पहाडी ग्रामीण बस्तीमा पुगेपछि हल गोरुले खेत जोत्ने प्रचलन हराएको बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका स्थानीय कृषक भान सिँह ऐरले बताए ।

केही वर्ष अघिसम्म गाउँका सबै किसानका घरघरमा हल गोरु पाल्ने र खेतीका समयमा गोरुले खेतबारी जोतेर अन्नबाली लगाउने गरेका भएपनि केही वर्षयता गाउँघरमा गोरु देखिन छाडेका कृषक ऐरले बताएका छन। पहाडी पाखा भिराला बारीमा मकै, गहुँ, जौ कोदो तथा खेतमा तोरी र धान छर्नका लागि खेतबारी जोत्ने काम अहिले गोरुको ठाउँमा मिनीटिलर (हाते ट्याक्टर)बाट गर्दै आएपछि हल गोरु र हलो जुवा हराउदै गएका कृषक ऐरको भनाइ रहेको छ ।

बैतडी सहितका सुदुर पहाडका जिल्लाहरुमा विगत ५-६ वर्षयता गोरुको ठाउँमा मिनीटिलरले खेतबारी जोत्दै आएका स्थानीय कृषकहरुले बताउने गरेका छन । ५-६ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हल गोरु हुने गर्दथे, खेतीका समयमा सबैले गोरुले नै खेतबारी जोत्ने गर्दथे, तर अहिले भने गाउँमा कहिँ कतै मात्रै हल गोरु र हलो जुवा देखिने गरेका छन । केही वर्ष अघि गाउँ भरीका सबैको घर घरमा हल गोरु हुने भएपनी अहिले भने धेरै किसान आधुनिक कृषि प्रणालीको प्रयोग गरिरहेकाले स्थानीय कृषकले प्रयोग गर्ने परम्परागत खेत जोत्ने काठे हलो सँगसँगै हल गोरु गराउदै गएको दशरथचन्द नगरपालिका २ देहिमाण्डौका स्थानीय कृषक तृप्त बोहराले बताए ।

बेरोजगारीले गर्दा गाउँ खाली

बेरोजगारीले गर्दा गाउँ खाली जस्तै भएको र काम गर्ने युवा नै नभएपछि हल गोरु पाल्ने चलन पनि हराउँदै गएको स्थानीय कृषक बोहराको भनाइ रहेको छ । घरमा काम गर्ने मान्छे नै छैनन्, गोरुलाई चराउने, घाँस पानी गर्ने कोही नभएपछि बिस्तारै गाउँका सबै मान्छेले गोरु पाल्न छाडेको उहाँले बताए ।

अहिले गाउँका बारी बाँझै छन्, भर्खरै किसानले मकै छर्ने काम सकेर, धान रोप्न बेर्ना बनाइ रहेका छन् । बाँझो बारी जोत्नका लागि गाउँका हरेक किसानले मिनीटिलरको प्रयोग गर्ने गरेका छन । गाउँमा अहिले कहि कतै मात्रै खेतबारीमा हल गोरुले जोतेको देख्न सकिन्छ । युवाशक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराएजस्तै भएको स्थानीय बताउँछन् । 

मिनीटिलरले काम गर्दा निकै छिटो हुने, समयको धेरै बचत हुने, खर्च पनि कम हुने भएकाले कहैं कतै गोरु भेटिए पनि एक दिन जोतेको तीन हजारसम्म लिने गरेको स्थानीय कृषकले बताउने गरेका छन । गोरुले जोतेको जमिनमा र मिनीटिलरले जोतेको जमिनमा उत्पादनमा भने फरक हुने गरेको अनुभव सुनाउदै कृषक बोहराले प्रविधिले गर्दा जोत्ने काममा छिटो छरितो र सहज त भएकै छ तर अन्नबाली उत्पादनमा भने फरक हुने गरेको बताउनु भयो । उहाँले भन्नू भयो - मिनीटिलर हल गोरु जति उपयोगी छैन, गोरुले खेतबारी जोत्दा समय त लाग्थ्यो तर उत्पादन राम्रो हुने गर्थ्यो, मिनीटिलरले छिटो भए पनि उत्पादनमा कमी आएको उहाँको अनुभव रहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update