Sagun Khabar
बैतडीमा आइरन चक्की संगै परिवार नियोजनका साधनहरुको अभाव

गोविन्द पन्त बैतडी - देशभर जस्तै बैतडीमा पनि आइरन चक्की संगै परिवार नियोजनका साधनहरुको अभाव भएको छ । 

सरकारले समयमै खरिद गर्न नसक्दा अस्थायी परिवार नियोजनका साधन संगै आइरन चक्कीको अभाव भएको हो ।परिवार कल्याण महाशाखाका अनुसार पिल्स, कण्डम, तीन महिने सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको बैतडी सहित देशका विभिन्न ठाउँमा अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए ।

स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कण्डम, सङ्गीनी सुई (डिपो) कपर–टी, नरप्लान्ट जस्ता अस्थायी परिवार नियोजनका साधनको स्ट्रक नभएकाले नेपाल सरकारले माग अनुसार परिवार नियोजनका साधनको परिपूर्ति गर्न सकेको छैन । नेपाल सरकारले परिवार नियोजन कार्यक्रमका लागि आवश्यक अनुसार बजेट छुट्याउ नसक्दा दातृ निकायको भर पर्दै आएको छ ।

पछिल्लो समय युएसएड बन्द हुँदा दाताले दिने भनेर प्रतिबद्धता गरेको सहयोगमा पनि कटौती भएकाले समस्या झन बढ्दो छ । सरकारले दिने बजेट बढाउन नसक्दा र दातृ निकायबाट आउने सहयोगमा कमी आएकाले परिवार नियोजनका साधान अभाव भएको सूचना अधिकारी लेखकले बताए ।

यस्तै सरकारले गर्भवती तथा सुत्केरी आमालाई नि:शुल्क रुपमा वितरण गर्दै आइरहेको आइरन चक्की देशका धेरै स्वास्थ्य संस्थामा नपाउने अवस्था आएको छ। स्वास्थ्यकर्मीहरुले नै आइरन चक्कीको अभाव भयावह स्थितीमा पुगेको भन्दै स्वास्थ्य मन्त्रालयसँग आइरनको माग गरिरहेका छन्।

परिवार कल्याण महाशाखाले भने आइरनको अभाव केही संस्थामा देखिए पनि बाहिर हल्ला भएजस्तो भयावह नभएको जनाएको छ। हाल स्थानीय तहले आफैं किनेर पनि आइन चक्की वितरण गर्दै आइरहेका छन ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update