Sagun Khabar
बैतडी कांग्रेसले दशओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने 

बैतडी –नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिक आईरहेका बेला बैतडी कांग्रेसले १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार बसेको जिल्ला कार्य समितिको बैठकले १० ओटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए । 

जिल्ला कार्यसमितिका पदाधिकारी, पूर्व केन्द्रिय सदस्य, पूर्व पदाधिकारी, पूर्व सभापति समेत सहभागी भएको बैठकले कांग्रेसको संगठनलाई बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । सोही निर्णय अनुसार भोली दोगडाकेदार गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ भने भदौ १० गते सुर्नया गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । 

यसैगरी भदौ ११ गते पञ्चेश्वर, भदौ १२ गते मेलौली नगरपालिका र शिवनाथ, भदौ १३ गते दशरथचन्द नगरपालिका, भदौ १५ गते पुर्चौंडी नगरपालिका र भदौ १६ गते पाटन नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । डिलाशैनी र सिगासको हकमा प्रशिक्षणको मिति पछि तोकिने कोषाध्यक्ष पाण्डेयले बताए । 

यस्तै पार्टीका जिल्लामा रहेका क्रियाशील सदस्यहरुको सदस्यता अनुमोदन गर्ने निर्णय समेत बैठकले गरेको छ । यसैगरी पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी पदाधिकारीहरुलाई भदौ १५ गतेभित्र लेबी बुझाउन आग्रह गरिएको र लेबी नबुझाएमा पार्टीको महाधिवेशनमा भाग लिन नदिने निर्णय समेत भएको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए । 

नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको बैठकमा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य विनयध्वज चन्द प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update