Sagun Khabar
बैतडीमा मोटरसाइकलबाट घर पुर्याइदिन्छु भन्ने युवकले एक किशोरीलाई अन्तै लग्न खोजेपछि...

बैतडी – बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छिन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् । 

सोमबार बिहान गौराका लागि लुगा कपडा र श्रृंगारका सामाना किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताए ।  

Atrya hospital

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य बैनीहरुसंग खोड्पे पुगेकी गोदावरी बुवा भन्दा केही ढिलो घर फर्किदा हरिशले आँफै लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताए । उनले भने ‘बैनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर उसले विजयपुर सम्म पुर्याइ दिन्छु भनेछ । विजयपुरबाट पनि बझाङ तर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लग्ने प्रयास पछि गोदावरीले हाम फालेको पारिवारिक श्रोतले जनाएको छ । 

घाइते गोदावरीको अहिले धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भईरहेको छ । उनको आइसियुमा राखेर उपचार भईरहेको उनका दाजु जनकराज भट्टले बताए । उनले भने ‘बाहिरी देखिने चोट कम भएपनि बहिनीको भित्री अंगमा चोट छ । बेहोस अवस्थामा छ ।’

पीडित परिवारले घटनाको छानबीनका लागि खोड्पे प्रहरीचौकीमा निवेदन दिएका छन् । आफ्नो बहिनीले न्याय पाउनुपर्ने उनका दाजु जनकले बताए । 

प्रहरीले मोटरसाइकल चालक हरिश महरा र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । अहिले सम्म मोटरसाइकलबाट हाम फालेर एकजना किशोरी घाइते भएको भन्ने जानकारी मात्रै आएको र घटनाका बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update