Sagun Khabar
अछामको जयगढका अग्नि पीडितलाई प्रदेश सरकारले ५० लाख दिने

अछाम – मंगलबार राति अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीबाट पीडित परिवारहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले आगलागी पीडितहरुलाई ५० लाख सहयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको विवरणका आधारमा ५० लाख सहयोग गर्ने निर्णय गरिएको बताए ।

Atrya hospital

उक्त रकम विपद् व्यवस्थापन कोषबाट बान्निगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराइने मुख्यमन्त्री शाहले बताए । गाउँपालिकाले मानवीय सहायता सम्बन्धी मापदण्ड बनाएर राहत उपलब्ध गराउने छ । क्षतिको पूर्ण विवरण प्राप्त भएपछि प्रदेश सरकारले थप सहयोग गर्ने मुख्यमन्त्री शाहले बताए ।

प्रदेश सरकारले स्थलगत अवस्था बुझ्नका लागि सामाजिक विकासमन्त्री मेघराज खड्का र आन्तरिक मामिलामन्त्री हीरा सार्कीलाई जयगढ पठाउने निर्णय गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

मंगलबार राति ७ बजे ग्यास सिलिन्डरबाट सल्केको आगोले भीषण रूप लिएर २७ घर जलेर पूर्णरूपमा नष्ट भएको अछाम प्रहरीले जनाएको छ । आगलागी पाँच घन्टापछि नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update