Sagun Khabar
बैतडीमा किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई प्रभावकारी बनाइने 

बैतडी –बैतडीमा किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई प्रभावकारी बनाउन सरोकारवालाहरुले पहल गर्ने भएका छन् । जिल्लाका विभिन्न विद्यालयहरुमा सञ्चालित किशोरकिशोरी मैत्री सूचना केन्द्रहरुलाई प्रभावकारी बनाउन पहल गर्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले बताएका छन् ।

किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई प्रभावकारी बनाउन पाटनमा आयोजना गरिएको परामर्श बैठकका सहभागीहरुले सूचना केन्द्रहरुलाई प्रभावकारी बनाउन सर्वपक्षीय सहयोगको आवश्यकता रहेको बताएका छन् । ज्ञानेश्वर मावि खोड्पेमा सञ्चालित किशोरकिशोरी मैत्री सूचना केन्द्रले धेरै सहयोग पुर्याएको बताउँदै विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले यसमा स्थानीय सरकारहरुको पनि ध्यान जानु आवश्यक रहेको बताए । उनले भने ‘किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई प्रभावकारी बनाउनका लागि सबैको सहयोग आवश्यक हुन्छ ।’

किशोरकिशोरी मैत्री सूचना केन्द्रमा हुने छलफलले बालविवाह न्यूनीकरणमा सहयोग पुर्याएको बताउँदै सहायक प्रधानाध्यापक महराले बृहत यौनिकता शिक्षाका बिषयमा पनि जानकारी भईरहेको बताए । 

Atrya hospital

यस्तै बैठकमा बोल्दै स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले यौन तथा प्रजनन स्वास्थ्यका बिषयमा जीवनोपयोगी शिक्षाको रुपमा बुझ्नुपर्ने बताए । उनले भने ‘यौन तथा प्रजनन स्वास्थ्यको बिषय सबैको सरोकारको बिषय हो । यो बिषयमा सबैले जानकारी राख्नु आवश्यक छ ।’

यस्तै शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले विद्यालयमा स्थापना गरिएका किशोरकिशोरी मैत्री सूचना केन्द्रले ठूलो सहयोग पुर्याएको बताए । 

बैठकमा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले किशोरकिशोरी मैत्री कक्ष सञ्चालनका लागि विद्यालयहरुलाई नगरपालिकाका तर्फबाट सहयोग गरिने बताइन् । 

यस्तै पाटन नगरपालिकाका उपप्रमुख सरस्वती कोलीले किशोरकिशोरी मैत्री कक्ष सञ्चालनका लागि नगरपालिकाका तर्फबाट पहल हुने बताइन् । उनले भनिन् ‘विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्रलाई प्रभावकारी बनाउन नगरपालिकाको तर्फबाट पहल गर्छौं ।’

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले किशोरकिशोरीहरुका विभिन्न समस्या समाधानका लागि स्थापना भएको किशोरकिशोरी मैत्री कक्षहरुलाई प्रभावकारी बनाउन सबै सरोकारवालाहरु लाग्नुपर्ने बताए । 

बैतडीका १३ ओटा विद्यालयमा किशोरकिशोरी मैत्री कक्षा रहेका छन् । जिल्लाका थप ५ ओटा विद्यालयमा किशोरकिशोरीमैत्री कक्ष सञ्चालनमा ल्याउने तयारी भएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

मेरी स्टोप्स् इन्टरनेश्नलको आयोजनामा भएको बैठक संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा सम्पन्न गरिएको हो । बैठक आयोजनाका लागि शिक्षा विकास तथा समन्वय इकाई बैतडीले समन्वय गरेको हो । 

प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update