Sagun Khabar
महाकालीमा बेपत्ता जयसिंह धामीको बैतडीमा पनि खोजी कार्य जारी 
फाइल फोटो

बैतडी –भारतीय एसएसबीले तुइन काटिदिँदा बेपत्ता भएका दार्चुलाको व्याँसका जयसिंह धामीको बैतडीमा पनि खोजी कार्य भईरहेको छ । तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका जयसिंहको महाकालीको तटीय क्षेत्रमा खोजी भईरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

दार्चुला हुँदै बगीरहेको महाकाली बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै बग्ने गर्दछ । बैतडीका महाकाली किनारमा जयसिंह धामीको शव भेटिन सक्ने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको सूचना अधिकारी भारतीले बताए । उनले भने ‘छानबीन समितिले पनि बैतडीको सेरा सम्म स्थलगत अनुगमन गरेको थियो । त्यसपछि खोजी कार्यलाई निरन्तरता दिने भनेपछि हामीले जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर बेपत्ता धामीको खोजीका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं ।’

Atrya hospital

बैतडीको सेरा, झुलाघाट,शिवनाथ, पञ्चेश्वर लगायत महकाली किनारमा धामीको खोजी कार्य भईरहेको उनले बताए । सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीका सीमा खटिएका प्रहरी जवानहरुले खोजी कार्य जारी राखेका छन् । 

गत साउन १५ गते मालघाट तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिँदा धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । भारतीय पक्षले भने तुइन काटेको कुरा अस्वीकार गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update