Sagun Khabar
बैतडीको विकासका लागि कांग्रेसका नेताहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र 

बैतडी –बैतडीको समग्र विकासका लागि कांग्रेस बैतडीका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवटारमा पुगेर कांग्रेसका नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐरले जानकारी दिए । 

पश्चिम सेती जलविद्युत आयोजना, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना लगायतका राष्ट्रिय महत्वका योजनाहरुलाई अघि बढाउन माग गर्दै २९ बुँदे ज्ञापन पत्र बुझाइएको ऐरले बताए । 

Atrya hospital

प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापन पत्रमा महाकाली कोरीडोरको काम अघि बढाउनुपर्ने, जिल्लाका दुर्गम ठाउँमा विद्युतीकरण गर्नुपर्ने, जिल्ला अस्पताललाई दुईसय शैइयाको अस्पतालमा स्तरोन्नती गर्नुपर्ने, जिल्लाका नगरपालिकाहरुमा कम्तीमा ५० शैइया र गाउँपालिकाहरुमा कम्तीमा २५ शैइयाका अस्पताल निर्माण कार्य अघि बढाउनुपर्ने माग गरिएको छ । 

यस्तै पुर्चौडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका आंगिक क्याम्पस बनाउनुपर्ने, जिल्लाका विभिन्न स्थानमा दाँत र आँखा अस्पताल स्थापना गर्नुपर्ने, गोकुलेश्वर कृषि तथा पशुविज्ञान कलेजलाई त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस बनाउनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

यस्तै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकासका लागि पहल गर्नुपर्ने, जिल्लाका विभिन्न सडकहरुको स्तरोन्नती गर्नुपर्ने, बैतडी र दार्चुलाको सीमाना गोकुलेश्वरमा मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायतका माग राखिएका छन् । 

कांग्रेस बैतडीका नेताहरुले राखेका मागप्रति आफू सकारात्मक रहेको र सकेसम्म कार्यान्वयन गर्ने प्रबितद्धता प्रधानमन्त्रीले जनाएको महासमिति सदस्य ऐरले बताए । 

ज्ञापन पत्र बुझाउन नेपाली कांग्रेसका महासमिति सदस्य उत्तरबहादुर ऐर, महासमिति सदस्य केशवबहादुर चन्द, नेविसंघका जिल्ला अध्यक्ष कपील केसी लगायतका नेताहरु प्रधानमन्त्री निवास बालुवटार पुगेका थिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update