Sagun Khabar
बैतडीमा विद्यालय सञ्चालन नगर्न स्थानीय प्रशासनको आग्रह 

बैतडी –कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले आफूखुसी विद्यालय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । जिल्लाका विभिन्न स्थानमा विद्यालय सञ्चालन भएका खबर बाहिर आएपछि सबै स्थानीय तहहरुलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । उनले भने ‘कोरोना भाइरसको जोखिम कायमै रहेको छ । यस्तो अवस्थामा विद्यालय सञ्चालन गर्नु महामारी निम्त्याउनु हो । त्यसैले हामीले विद्यालय सञ्चालन नगर्न आग्रह गरेका छौं ।’

जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने खालका कुनै कार्यक्रम नगर्न सूचना जारी गरिसकेको बताउँदै सूचना अधिकारी भारतीले विद्यालय सञ्चालन ल्याउँदा भीडभाड हुने भएकाले महामारीको समयमा सचेतता अपनाउन आग्रह गरिएको बताए । 

Atrya hospital

चाडपर्वको समय पनि नजिक आईरहेकाले भीडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्यका मापदण्ड परिपालनामा समेत लापरवाही नगर्न प्रशासनले आग्रह गरेको हो । भीडभाडले संक्रमणको जोखिम बढ्दै जाने भएकाले यो तर्फ सबैले सचेत हुनुपर्नेमा जोड दिइएको छ । महामारी फैलिएमा यसलाई नियन्त्रण गर्न निकै चुनौतीपूर्ण हुने भएकाले यस तर्फ सबै सरोकारवालाहरु गम्भीर बन्न जरुरी रहेको सूचना अधिकारी भारतीले बताए । 

स्थानीय सरकारहरुले पनि जोखिमको पूर्व आँकलन गरेर मात्रै विद्यालय खोल्नका लागि अनुमति दिनुपर्ने उनले बताए । उनले भने ‘अहिले महामारी नियन्त्रण गर्नु प्रमुख दायित्व हो । यसमा सबैले सचेत हुनु आवश्यक रहेको छ ।’

प्रकाशित मिति: शनिबार, भदौ ५, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update