
अछाम –नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाले जनयुद्ध हिंसा नै भएको बताएका छन् ।
एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अछाम पुगेका थापाले बिहिवार यस्तो बताएका हुन् ।
नेपाल पत्रकार महासंघ, अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोमा पनि आपत्ति नरहेको उनले बताए ।
२०३७ सालमा राजनीतिक यात्रा सुरु गरेका थापा लामो समय माओवादीमै रहेका थिए । उनी २०५० मा नेकपा माओवादीमा आबद्ध भएका थिए। भूमिगत कालमा माओवादीको विभिन्न संगठन हुँदै २०६४ सालमा एकीकृत नेकपा माओवादीको उनी महासचिव भएका थिए । रक्षामन्त्री र गृहमन्त्रीसमेत भइसकेका उनी नेकपाका सचिवालय सदस्य बनेका थिए । पछि सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई अवैधानिक ठहर गरेपछि थापा एमालेमै बसेका थिए ।
पछिल्लो समय उनले माओवादीको आलोचना गर्दै आएका छन् ।