Sagun Khabar
बैतडीको पाटन नगरपालिकाका १० ओटै वडामा तालाबन्दी 

बैतडी –तलब वृद्धिको माग गर्दै आएका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुले पाटन नगरपालिकाका १० ओटै वडामा तालाबन्दी गरेका छन् । बजेट भाषणका लागि संघीय सरकारले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुर्याउने पर्ने घोषणा गरेको भएपनि नगरपालिकाले कार्यान्न्वयन नगरेको भन्दै उनीहरुले वडा कार्यालयहरुमा तालाबन्दी गरेका हुन् । 

आइतबारदेखि आन्दोलनमा उत्रेका बालविकास सहजकर्ता र विद्यालय कर्मचारीले नगरपालिकामा गरेको तालाबन्दी पनि जारी रहेको छ । संघर्ष समिति बनाएर आफूहरु आन्दोलनमा उत्रेको लेखापाल वसन्त पन्तले बताए । उनले भने ‘हाम्रो माग पूरा नहुँदा सम्म तालाबन्दी जारी रहनेछ ।’

Atrya hospital

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका लागि संघीय सरकारले २ हजार थप गरेको र बाँकी रकम स्थानीय तहले व्यहोर्नुपर्ने भएकाले नगरपालिकाले तलब नथपेको उनीहरुको गुनासो छ । 

नगरपालिकाका १० ओटै वडामा तालाबन्दी गरेर संघर्षका कार्यक्रमलाई अघि बढाएको बालविकास सहजकर्ता संघर्ष समितिकी संयोजक मञ्जु भण्डारीले बताइन् । 

यता पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरुका मागप्रति आफूहरु सकारात्मक रहेको भएपनि बजेट अभावका कारण समस्या भएको बताए । 

संघीय सरकारले स्थानीय श्रोतबाट थप तलब दिनुपर्ने भनेकाले सो निर्णय कार्यान्वयनमा समस्या भएको उनले बताए । यो समस्या समाधानका लागि संघीय अर्थमन्त्रालयसंग पनि कुराकानी भईरहेको चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update