Sagun Khabar
बैतडीको गणेश धुरा प्रचारप्रसारको अभावमा ओझेलमा 

बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं १ स्थित गणेश धुरा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्री सतहबाट करीब २ हजार मिटर उचाईमा रहेको सो धुरा धार्मिक र प्राकृतिक दुवै हिसाबले अति महत्वपूर्ण रहेको शिक्षक लालसिंह भण्डारीले बताए । 

पाटन नगरपालिका र डडेल्धुराको अजयमेरु गाउँपालिकाको सिमानामा अवस्थित सो धुरामा भगवान गणेशको पूजाआजा हुने भएकाले गणेशधुरा नामाकरण गरिएको भण्डारीले बताए । राजा नागीमल्लकै पालादेखि सो ठाउँमा पूजाआजा हुँदै आएको उनले बताए । 

Atrya hospital

राजा नागी मल्लको पालामा पाटनको डङसिली गाउँदेखि गणेश धुरा सम्म ढुंगा सिँढी लगाइएको छ । पछिल्लो समयमा सो ठाउँको प्रचारप्रसारमा कसैले ध्यान नदिँदा सिँढीहरु पनि जीर्ण भईसकेका छन् । 

गणेशधुराको दर्शन गरी पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । हिन्दू शास्त्रमा सबैभन्दा पहिला गणेशको पूजाआजा गर्ने चलन रही आएकाले सो धुरामा हरेक बर्षको भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिको दिन पूजा गर्ने गरिन्छ । 

भाद्र महिनादेखि चाडपर्व शुरु हुने भएकाले शुरुमा गणेश भगवानको पूजाआजा गर्ने परम्परा अनुसार ओल्के संक्रान्तिमा गणेशधुरामा पूजाआजा हुने गरेको शिक्षक भण्डारीले बताए । उनले भने ‘यो धुरामा ओल्के संक्रान्तिको दिन गाबा चढाउने, मकै चढाउने र पूजाआजा गर्ने चलन रही आएको छ । शुरुमा गणेश धुराको पूजाआजा पछि अन्य ठाउँमा पूजाआजा गर्ने चलन रही आएको छ ।’

धार्मिक र प्राकृतिक हिसाबले निकै महत्वपूर्ण मानिएको गणेश धुराको प्रचारप्रसारमा स्थानीय सरकारले समेत ध्यान नदिएको आरोप लागेको छ । ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र गणेश धुरा पुग्ने बाटो जीर्ण भईरहेकाले बेला स्थानीय सरकारले यसमा ध्यान दिनुपर्ने स्थानीय मोहनराज भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update