Sagun Khabar
डोटीमा भदौ ३१ सम्म निषेधाज्ञा थपियो 

डोटी – डोटीमा निषेधाज्ञाको अवधि  एक महिना थपिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको  सोमबार बसेको बैठकले भदौ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा यातायातका सम्पूर्ण सवारी साधन जिल्लाभित्र चलाउन पाइने भएको छ ।

पार्टी प्यालेस, जिमखाना र स्वीमिङ पुल बाहेकका अन्य सबै प्रकृतिका पसलहरु बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी खोल्न पाइने लगायतका विभिन्न निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । 

निषेधाज्ञाको समयमा अनावश्यक हिंडडुल, भिडभाड गर्न नपाइने, कुनै प्रकारका भेला जात्रा महोत्सव, सभा, सम्मेलन, तालिम गोष्ठी, खेलकुद आदि सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था, प्रशिक्षण केन्द्र ट्यूसन कक्षा भौतिक रुपमा सञ्चालन गर्न नपाइने निमित्त प्रमुख जिल्ला अधिकारी किरण जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । 

निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले कोरोना भाइरस संक्रमण दिनानुदिन बढिरहेको समयमा यसबाट सुरक्षित रहन निषेधाज्ञा सबैभन्दा उत्तम विकल्प रहेको बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update