बैतडी –बैतडीको सुर्नया गाउँपालिका–२ स्थित बासुदेव मावि लिस्किटाको ७५ औं बार्षिकोत्सव तथा हीरक जयन्ती समारोह विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर चन्दको अध्यक्षतामा भएको हीरक जयन्ती समारोहमा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए ।
उक्त समारोहमा प्रदेशसभाका पूर्व सांसद प्रेमप्रकाश भट्ट, सुर्नया गाउँपालिका–२ का वडा अध्यक्ष गणेशबहादुर बिष्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
समारोहमा विद्यालयको शैक्षिक,भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक जितबहादुर पाण्डेयले १ करोड ३९ लाख ७ सय ३० रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।
बार्षिकोत्सव तथा हीरक जयन्ती समारोहमा विद्यालयका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको छ ।
कक्षा १२ सम्मको पढाई हुँदै आएको यो विद्यालय यसको क्षेत्रको पुरानो विद्यालयको रुपमा रही आएको छ ।