बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका–७ धामीगाउँस्थित शिक्षा केन्द्र अमर माविको ६८ औं बार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक धामीको अध्यक्षतामा भएको बार्षिकोत्सवमा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए । बार्षिकोत्सवमा समारोहमा डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्ट, अभिभावक, शिक्षक, विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक परमानन्द भट्टले १ करोड ३७ लाख ४९ हजार ३६९ रुपैयाँ बराबरको आय र १ करोड ३२ लाख ४२ हजार ९१९ रुपैयाँ बराबरको व्यय विवरण प्रस्तुत गरेका थिए । यस्तै ५ लाख ६ हजार ४४९ रुपैयाँ विद्यालयको बैंक खातामा मौज्दात रहेको प्रधानाध्यापक भट्टले बताए ।
कक्षा १२ सम्मको पढाई हुने उक्त विद्यालयमा हाल ४ सय ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।
बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको स्थानीय प्रदीपकुमार जोशीले बताए ।
विद्यालयको बार्षिकोत्सव समारोहमा बोल्दै डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले शिक्षा क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार लागि परेको बताए । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि पालिकामा अभिभावक–शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष जोशीले बताए ।