Sagun Khabar
सतबाँझको स्याउ चरीले खायो !

बैतडी –बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रमा फलेको स्याउ चराले खाएर नष्ट गरेको छ । करीब २० बर्षपछि सतबाँझमा स्याउ फलेको भएपनि चराले खाएर नष्ट गरेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए । उनले भने ‘सुख्खा फलफूलको नर्सरीमा फलेका सबै स्याउ चराले खाएर नष्ट गरेका छन् ।’

सतबाँझमा स्याउ फल्न छोडेपछि होचो जातको स्याउ ल्याएर रोपिएको थियो । होचो जातको स्याउले यो बर्ष फल दिएपनि उत्पादन भित्र्याउन नसकिएको प्रमुख भाटले बताए । यो बर्ष ६ क्विन्टलको हाराहारीमा स्याउ फलेको अनुमान गरिएको भएपनि उत्पादन भने लिन नपाएको उनले बताए । 

Atrya hospital

सतबाँझको स्याउ भदौ पहिलो सातातिर टिप्न लायक हुने भएपनि चराले पुरै नष्ट गरिसकेको उनले बताए । चराचुरुङ्गीबाट स्याउ बचाउ बर्ड नेटिङको आवश्यकता पर्ने भएपनि त्यसको व्यवस्थापन गर्न नसकिएको भाटले बताए । उनले भने ‘सतबाँझको नर्सरी भित्र ठूलो क्षेत्र भएकाले नेटिङ गर्न पनि समस्या भईरहेको छ ।’

धेरै बर्षपछि सतबाँझमा फलेको स्याउको स्वाद चाख्ने आसामा रहेका स्थानीयहरु निराश भएका छन् । यो बर्ष स्याउ खान पाइएला भनेर सोचेको भएपनि स्याउ स्वाद लिन नपाइने कुराले ननिको लागेको स्थानीय बीरबहादुर टेरले बताए । उनले भने ‘हामीले सतबाँझको स्याउको स्वाद नचाखेको धेरै भईसकेको थियो । यो बर्ष स्याउ खाउँला भनेर सोचेका थियौं । तर चराले नै सखाप पारेपछि खान पाइएन् ।’

 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update