Sagun Khabar
सुदूरपश्चिममा ओल्के र बुढी हाल्ने पर्व मनाइँदै 

बैतडी –आज भदौ १ गते, ओल्के सक्रान्ति । बैतडी सहित सुदूरपश्चिममा हर्षोल्लासका साथ ओल्के पर्व मनाईदैछ । ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ । आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफू आदि दिनु, मीठो–मसिनो खानु यस पर्वको विशेषता रही आएको छ ।

यसका साथै बिहानै नुवाईधुवाई ्गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने पनि गरिन्छ ।

वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुशियालीमा यस क्षेत्रमा ओल्को मनाउने प्रचलन रहेको पण्डित विष्णुदत्त भट्टले बताए । 

Atrya hospital

यो दिन ओल्कोको रुपमा फलफुल, सागपात, अन्न, दुध, दहि, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन रही आएको छ । धेरै जसो ठाउँंमा मन्दिरमा अन्न चढाई ओल्को हाल्ने चलन रही आएको छ । 

विवाहित छोरी बहिनीहरु माइती घरमा आउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार देवदत्त भट्टले बताए । उनले भने ‘ओल्के पर्वमा विवाहित छोरी बहिनीहरु माइतीमा आउने चलन छ । मिठोमसिनो खाने चलन रही आएको छ ।’

आजै ‘बुढी’ हाल्ने पर्व 
ओल्के संक्रान्तिका दिन गाउ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानिय भाषामा “बुढी हालेको’’ भन्ने गरिएको छ । यो बूढीलाइ असोज संक्रान्तिका साँझ प्रत्येक घर(घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ’बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए । 

बत्ती बाल्ने महिना समापन

सुदूरपश्चिममा साउन १ गतेवाट सुरु भएको बत्ती बाल्ने महिनाको सोमबार समापन भएको छ ।धार्मिक महिनाका रुपमा समेत चिनिने साउन महिनालाई बत्ती बाल्ने महिनाको रुपमा लिइन्छ साउने सङ्क्रान्तिदेखि सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम, बाजुरा लगायत जिल्लामा साउनलाई विशेष धार्मिक महिनाका रुपमा लिई मन्दिरमा पाठपूजा गर्ने चलन रहिआएको छ ।

साउनको महिना देवीदेवता बैकुण्ठमा शयन गर्ने अर्थात् सुत्ने भएकाले यस महिनालाई कालो महिना भन्ने गरिएको पण्डित विष्णुदत्त भट्टले बताए ।  

शयन गरेका बेला बत्ती बालेपछि देवीदेवताको रक्षा हुनाका साथै कुनै पनि वैरी नलाग्ने जनविश्वास रहिआएको छ । साउन १ गतेदेखि भक्तजनले बिहानै उठेर नुहाइधुवाई गरी एक महिनासम्म व्रत बसी देवीदेवताका मन्दिरमा गई पूजापाठ गर्नाले मनले चिताएको पूरा हुनाका साथै अञ्जानमा गरिएका पाप कर्म नष्ट हुने धार्मिक विश्वास रही आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update