अछाम –अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।
आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका रहेका छन् ।
जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।
शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए । शनिबार उनीहरुको शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेको थियो ।
परिवारका सदस्यहरूले उनीहरुको हत्या भएको भन्दै छानबिनका लागि स्थानीय प्रशासनसँग माग गरेको छन् ।
मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् ।
शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।