Sagun Khabar
बैतडीको पाटन ९ मा गरिएको तालाबन्दी खोल्न आग्रह 

बैतडी – बैतडीको पाटन नगरपालिका वडा नं ९ को कार्यालयमा गरिएको तालाबन्दी खोल्न आग्रह गरिएको छ । वडा कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वडा अध्यक्ष लोकबहादुर भण्डारीले विज्ञप्ती निकालेर तालाबन्दी खोल्न आग्रह गरेका हुन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकाभरी नै समस्या रहेको र त्यो समस्या समाधानका लागि कार्यपालिकाले निर्णय गरिसकेकाले वडा कार्यालयमा तालाबन्दी गर्नु अव्यवहारिक, अलोकतान्त्रिक र गैर जिम्मेवार कार्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 

Atrya hospital

प्रधानमन्त्री रोजागर कार्यक्रम अन्तर्गत काम गरेका श्रमिकहरुले पाउनुपर्ने रकम दिलाउनका लागि आफू सदैव सकारात्मक रहेको र चारओटै योजनाका अध्यक्षहरुसंग बसेर छलफल गरेर समस्या समाधान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू अहिले उपचारको क्रममा रहेकाले तालाबन्दी खोली सहयोग गरिदिन हुन वडा अध्यक्ष भण्डारीले आग्रह गरेका छन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेको पैसा नपाएको भन्दै कामदारहरुले आज वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाबाट रकम भुक्तानी भईसक्दा समेत वडा कार्यालयले ज्याला नदिएको कामदारहरुको आरोप छ । 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update