Sagun Khabar
बैतडीको पाटन नगरपालिका वडा नं ९ मा तालाबन्दी 

बैतडी –बैतडीको पाटन नगरपालिका ९ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा काम गरेका कामदारहरुले पैसा नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।

नगरपालिकाबाट भुक्तानी भएको रकम समेत आफूहरुलाई नदिएको भन्दै मजदुरहरुले तालाबन्दी गरेको हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरेको पैसा नपाएपछि आफूहरुले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय कर्णबहादुर बिष्टले बताए । उनले भने ‘हामीलाई काम गर्ने बेला काम गराइयो । तर अहिले भुक्तानी भईसकेको रकम समेत दिन आनाकानी गरिएको छ ।’

Atrya hospital

वडा नं ९मा प्रधानमन्त्री रोजगार अन्तर्गत ४ ओटा योजना सञ्चालन भएका र ती योजनाका लागि ७६ जना सूचीकृत भएका थिए । पछि वडा कार्यालयकै रहोवरमा २९५ जनालाई रोजगारी दिइएको कार्यवाहक वडा अध्यक्ष इन्द्रबहादुर बोहराले बताए । नगरपालिकाबाटै ४ लाख ७२ हजार कम भुक्तानी भएकाले रकम वितरणमा समस्या भएको उनले बताए । 

तर कामदारहरुले भने तोकिएको ज्याला पाउनुपर्ने र भुक्तानी भएको रकम वितरण हुनुपर्ने माग गर्र्दै तालाबन्दी गरेको जनाएका छन् । 

पाटन नगरपालिकाका विभिन्न वडाहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत अनियमितता भएपछि रोजगार शाखामा कार्यरत प्राविधिकको करार सेवा समेत रद्ध गरिएको थियो । 

यता नगरपालिकाका रोजगार संयोजक महेश पन्तले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिले प्राविधि पठाउने भनेको भएपनि अहिले सम्म नपठाएको बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update