बैतडी–बैतडीको पाटन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४० जना युवाहरुलाई सीपमूलक तालिम दिन शुरु गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रुपान्तरण पहल आयोजनामार्फत युवाहरुलाई सीप विकास र जीवनोपयोगी तालिम दिन शुरु गरिएको रोजगार सेवा केन्द्र पाटनका रोजगार सहायक खेमराज अवस्थीले बताए ।
आइतबारदेखि शुरु भएको तालिममा पाटन नगरपालिकाका ९ ओटा वडाबाट ४० जनाको सहभागिता रहेको छ । सहभागीहरुमध्येबाट २० जनालाई हाउस वाइरिङ र २० जनालाई पलम्बिङ तालिम दिने कार्य भइरहेको उनले बताए ।
१८ बर्ष पूरा भइ ४० बर्ष ननाघेका सूचीकृत बेरोजगार युवाहरुका लागि तालिम सञ्चालन गरिएको हो । तालिममा सहभागीहरुले ४० दिन कार्यस्थलमा सीप विकास तालिम लिनेछन् भने १० दिने जीवनोपयोगी सीप सम्बन्धी तालिम लिने रोजगार सहायक अवस्थीले बताए ।
सेती टे«निङ एण्ड रिसर्च सेन्टरको आयोजना र पाटन नगरपालिकाको सहयोगमा कार्यस्थलमा सीप विकास तथा जीवनोपयोगी सीपमा आधारित तालिम सञ्चालन भइरहेको रोजगार सहायक अवस्थीले बताए ।
तालिमको उघद्दाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले सीपमा आधारित तालिमले बेरोजगार युवाहरुलाई रोजगारीसंग जोड्नका लागि सहज हुने बताए ।
५० दिनको तालिमपछि तालिमका सहभागीहरुलाई विभिन्न योजनाहरुमा कामका लागि खटाइने बताइएको छ । ५० दिनको तालिमपछि सहभागीहरु ५० दिन योजनाहरुको काममा खटिनेछन् ।
तालिमका सहभागीहरुलाई दैनिक ६ सय ६८ रुपैयाँका दरले न्यूनतम ज्याला प्रदान गरिने रोजगार सहायक अवस्थीले बताए । सीपमूलक तालिमपछि सहभागीहरुलाई रोजगारमूलक काममा सहभागी हुनका लागि बाटो खुल्ने अपेक्षा गरिएको छ ।