बैतडी–बैतडीको जनकालिका बचत तथा ऋण सहकारी संस्थाको २७ औं बार्षिक साधारणसभामा शनिबार सम्पन्न भएको छ ।
दशरथचन्द नगरपालिका–२ देहीमाण्डौ, मेलाखानस्थित सहकारी संस्थाले जनचेतना आधारभूत विद्यालयको प्रांगणमा साधारण सभा सम्पन्न गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष खडकबहादुर बोहराको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा दशरथचन्द नगरपालिका –२ का वडा अध्यक्ष सूर्यबहादुर बोहरा प्रमुख अतिथी रहेका थिए । साधारण सभामा नेफ्स्कुनका डडेल्धुरा प्रमुख धर्मराज जोशी विशिष्ट अतिथी रहेका थिए । साधारण सभामा शेयर सदस्य लगायत अन्य सरोकारवालाहरुको सहभागिता थियो ।
सहकारी संस्थाको बार्षिक साधारण सभामा संस्थाका कार्यकारी प्रमुख प्रेमसिंह बोहराले ३ करोड ८९ लाख ७७० रुपैयाँ बराबरको आयव्यय विवरण प्रस्तुत गरे ।
२०५३ सालमा कालिका बचत समूहबाट शुरु भएको संस्थाले २०५६ सालमा सहकारीमा परिणत भएको थियो । उक्त सहकारीमा अहिले ८ सय ५० जना शेयर सदस्य रहेका छन् भने ४ सय बालबचतकर्ता रहेका छन् ।
सहकारी संस्थामा २८ लाख ३० हजार २७० रुपैयाँ शेयर पूँजी रहेको छ भने ३ करोड २६ लाख ६३० रुपैयाँ बचत रकम रहेको छ । सहकारी संस्थाले ३ करोड २६ लाख ८७२ रुपैयाँ ऋण लगानी गरेको कार्यकारी प्रमुख बोहराले बताए ।
यस्तै सहकारी संस्थासंग ३ लाख ५५ हजार ७३५ रुपैयाँ अनुदान रकम रहेको बताइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र मेलौली नगरपालिकाका केही भागमा संस्थाको कार्यक्षेत्र रहेको बोहराले बताए ।
पछिल्लो समयमा विभिन्न ठाउँका सहकारी संस्थाहरु निष्क्रिय रहेका बेला जनकालिका बचत तथा ऋण सहकारी संस्थाले सहकारीको मर्म अनुसार काम गरिरहेको संस्थाका अध्यक्ष बोहराले बताए । सहकारीले परिचालन गरेका ऋण लगानी अहिलेसम्म नडुबेको उनले बताए ।
सहकारीका माध्यमबाट शेयर सदस्यहरुलाई विभिन्न व्यवसाय सञ्चालन गर्न सहज हुनुका साथै बित्तीय क्षेत्रमा समेत पहुँच पुगेको बताइएको छ ।