Sagun Khabar
पुर्चौंडीमा ससुराले बुहारीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–१० मा ससुराले बुहारीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ । 

एकजना ससुराले आफ्नी बुहारीलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको हो । 

भिडियो सार्वजनिक भएपछि घटनाको छानबीन गरेर दोषीलाई कारवाही गर्नुपर्ने अधिकारकर्मीहरुले माग गरेका छन् । यसरी बुहारीमाथि दुर्व्यवहार हुनु हिंसा भएकाले यो घटनाको छानबीन हुनुपर्ने माग गरिएको हो ।

महिलामाथि हुने हिंसा, अपमान र अमानवीय व्यवहार कुनै पनि अवस्थामा स्वीकार्य हुन नसक्ने अधिकारकर्मीहरुको माग छ । घटनामा संलग्न व्यक्तिमाथि सत्यतथ्य छानबिन गरी दोषी ठहरिए कानुनबमोजिम कडा कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।

विवाहपछि परिवारको सदस्य बनेकी बुहारीलाई सम्मान, माया र सुरक्षित वातावरण प्रदान गर्नुपर्नेमा मानसिक तथा शारीरिक यातना दिनु गम्भीर विषय भएको बताइएको छ । 

‘घरको कुरा’ भन्दै घरेलु हिंसा तथा अन्यायलाई लुकाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने अधिकारकर्मीहरुको भनाइ छ । पीडितमाथि हुने हिंसाविरुद्ध परिवार, समाज र सम्बन्धित निकाय सबैले आवाज उठाउनुपर्नेमा उनीहरूको जोड छ । 

यता जिल्ला प्रहरी कार्यालय बैतडीले सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोका बिषयमा जानकारी लिने काम भइरहेको जनाएको छ । भिडियो वास्तविकता बारे बुझ्नका लागि तल्लादेही प्रहरीचौकीलाई निर्देशन दिइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । 

पुर्चौंडी नगरपालिका–१० वडा अध्यक्ष हिक्मतबहादुर बिष्टले देवरानी र जेठानीबीच विवाद भएपछि देवरानी माइत जाने क्रममा ससुराले नजानु भनेर बुहारीमाथि लुछाचुँडी गरेको जानकारी आएको बताए । घटनापछि माइती पक्ष र घरका पक्ष बसेर मिलापत्र गरेको जानकारी समेत आएको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update