बैतडी–बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर ३ सय ३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।
जिल्ला सदरमुकाममा राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा र्याली र अन्तरक्रिया सम्पन्न गरिएको राप्रपा बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै उनको योगदानका बिषयमा चर्चा गरिएको उनले बताए ।
यस्तै पाटनमा राप्रपा नेपालको आयोजनामा पृथ्वी जयन्तीका अवसरका कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बिषयमा चर्चा भएको राप्रपा नेपालका केन्द्रीय सदस्य प्रेमबहादुर चन्दले बताए ।
यस्तै पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा बैतडीको डिलाशैनी–५ स्थित केदार माविमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उक्त कार्यक्रममा राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहको योगदानका बिषयमा चर्चा भएको उनले बताए ।