बैतडी–बैतडीको एक विद्यालयका शिक्षकले टुहुरा तथा विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेका छन् ।
जिल्लाको पुर्चौंडी नगरपालिका–१ स्थित निमुन मावि खिमापुरमा कार्यरत शिक्षक विजयराज पन्तले विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरेका हुन् ।
२० हजारमा न्यानो लुगा खरीद गरेर विद्यालयका १६ जना विद्यार्थीहरुलाई शिक्षक पन्तले न्यानो लुगा वितरण गरेका विद्यालयका प्रधानाध्यापक नरबहादुर धामीले बताए । शिक्षक पन्तको सहयोगबाट विपन्न परिवारका बालबालिकाहरुलाई सहयोग पुगेको उनले बताए ।
समस्यामा रहेका बालबालिकाहरुलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले मंगलबार एक कार्यक्रमको आयोजना गरेर न्यानो लुगा वितरण गरेको शिक्षक पन्तले बताए । हुनेले समस्यामा परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताका साथ आफूले न्यानो लुगा वितरण गरेको उनले बताए ।
यस्तै शिक्षक पन्तले आफ्नै लगानीमा निर्माण गरेको खानेपानी योजनाबाट विद्यालयमा एक धारा समेत जडान गरेका छन् । स्थानीयहरु मिलेर करीब साढेसात किलोमिटरको दुरीबाट गाउँमा खानेपानी ल्याएको र उक्त खानेपानी योजनाबाट विद्यालयका एक धारा जडान गरेको प्रधानाध्यापक धामीले बताए ।
विद्यालयमा खानेपानीको धारा जडान भएपछि शिक्षक र विद्यार्थीहरुलाई सहज भएको छ । यसअघि विद्यालयमा खानेपानी नहुँदा समस्या हुँदै आएको थियो ।