बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले हिउँदे फलफूलका बिरुवा अनुदानमा उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुसार किसानहरुलाई ५० प्रतिशत अनुदानमा हिउँदे फलफूलका बिरुवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै किसान, सहकारी, कृषि फर्म लगायतलाई आवश्यकता अनुसार हिउँदे फलफूलका बिरुवा माग गर्न आग्रह गरेको छ । ५० प्रतिशत अनुदानमा दाँते ओखर र स्याउका बिरुवा उपलब्ध गराउने र यसका लागि माग गर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।
गाउँपालिकाले थिनसेल जातको दाँते ओखरको कलमी बिरुवा किसानलाई २५० रुपैयाँ उपलब्ध गराउनेछ भने पालिकाले २५० रुपैयाँ बेहोर्न छ । यस्तै बिजुको ओखरको बिरुवा किसानले २० रुपैयाँ प्रतिबोटका हिसाबले पाउनेछन् भने २० रुपैयाँ गाउँपालिकाले तिर्नेछ ।
यस्तै अन्ना भेरिड जातको कलमी स्याउको बिरुवा किसानलाई प्रतिबोट ४० रुपैयाँमा उपलब्ध गराइनेछ भने ४० रुपैयाँ गाउँपालिकाले तिर्नेछ ।
हिउँदे फलफूलका बिरुवा लगाउन इच्छुक किसान, समूह, कृषि फर्म,सहकारी लगायतलाई पौष मसान्तभित्र निवेदन दिइसक्न आग्रह गरेको छ । बिरुवाको माग गर्नेहरुले ५० प्रतिशत रकम निवेदनसंगै बुझाउनुपर्ने गाउँपालिकाले जनाएको छ ।
हिउँदे फलफूलका बिरुवा माग गर्दा लिखित निवेदन, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषि समूह दर्ता र नवीकरण, कृषि समूहको निर्णयको प्रतिलिपि र सम्बन्धित वडाको सिफारिश आवश्यक पर्नेछ ।