बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं –७ भित्र रहेका २ सय ४३ जना किशोरीहरुको रक्तअल्पता परीक्षण गरिएको छ ।
शिखरपुर स्वास्थ्यचौकीले आफ्नो सेवा क्षेत्रभित्र रहेका विद्यालयहरुमा पुगेर १० देखि १९ बर्षसम्मका किशोरीहरुको रक्तअल्पता परीक्षण गरेको हो ।
वडा नं ७ भित्र रहेका केदार मावि कठमडा, कैलपाल मावि झाड्बो,भुवनेश्वर मावि चौथाली र गलिनाथ आवि चौकामा किशोरीहरुको रक्त अल्पता परीक्षण गरिएको स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले जानकारी दिए ।
रक्त अल्पता परीक्षणका क्रममा २ सय ४३ जना किशोरीमध्ये ६ जनामा रगतको मात्रा कम देखिएको र अरुमा समान्य रहेको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए ।
किशोरीहरुको रगत संकलन गरेर उनीहरुको शरीरमा आवश्यकता अनुसार रगत भए÷नभएको कुरा प्रयोगशालामा चेकजाँच गरिएको हो । शरीरमा आवश्यक मात्रामा रगत नभएको अवस्थालाई रक्तअल्पता भन्ने गरिन्छ ।
किशोरीहरुमा रक्तअल्पता हुँदा भविष्यमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले स्वास्थ्यचौकीले आफ्नै पहलमा किशोरीहरुको रक्त अल्पता परीक्षण गरेको स्वास्थ्यचौकी प्रमुख बोहराले बताए ।
रक्तअल्पता देखिएका किशोरीहरुलाई खानपानमा सुधार गर्नुपर्ने सुझाव दिइएको छ भने रक्त अल्पताले पार्ने असरका बिषयमा जानकारी समेत दिइएको बोहराले बताए । रक्तअल्पता परीक्षण कार्यक्रम अन्तर्गत किशोरीहरुलाई पोषिलो खानेकुराको बारेमा समेत जानकारी दिइएको छ । रक्तअल्पता परीक्षण कार्यक्रम यही पौष १६ देखि २१ गतेसम्म सञ्चालन गरिएको थियो ।
नेपाल सरकारले किशोरीहरुमा रक्त अल्पता नहोस भनेर हरेक तीन–तीन महिनामा निशुल्क रुपमा आइरन चक्की वितरण गर्दै आएको छ ।
राष्ट्रिय जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार १० देखि १९ बर्षसम्मका ४४ प्रतिशत किशोरीहरुमा रक्त अल्पताको समस्या रहेको छ । रक्त अल्पता भएका किशोरीहरुले भोलिका दिनमा बच्चा जन्माउँदा समस्या हुने, कम तौलको बच्चा जन्मने र उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या देखिने गर्दछ ।
किशोरीहरुमा रक्त अल्पता हुँदा महिनावारी अनियमित हुने, शारीरिक तथा मानसिक वृद्धि विकासमा असर हुने, कमजोरी महसुस हुने,खानामा रुचि नहुने लगायतका लक्षण देखा पर्दछन् ।