Sagun Khabar
बैतडीको ज्ञानेश्वर माविद्वारा टोल शिक्षण सिकाइ शुरु 

बैतडी –बैतडीको पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाई सञ्चालनमा ल्याएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाहरुको पठनपाठनमा असर परेकाले टोल शिक्षण सिकाई शुरु गरिएको विद्यालयका प्रधानाध्यापक तर्कराज भट्टले बताए । 

कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलहरुमा कक्षा सञ्चालन गरिएको उनले बताए । टोलमै घर भएका शिक्षकहरुलाई परिचालन गरेर आधारभूत कक्षा टोलमै सञ्चालन गरिएको उनले बताए । उनले भने ‘टोलमा विद्यार्थीहरुलाई भेला गरेर शिक्षण क्रियाकलाप सञ्चालन गर्न थालेका छौं । दैनिक ३ घण्टा कक्षा सञ्चालन गरिरहेका छौं ।’

Atrya hospital

विद्यालयको सेवा क्षेत्रमा रहेको धारी, जुकेपानी, बजौटे, झौलेक र भट्याडी टोलमा टोल शिक्षण सिकाई शुरु गरिएको हो । यस्तै कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई टोल अनुसार बार बिराएर विद्यालयमै पठनपाठन गर्न थालिएको प्रधानाध्यापक भट्टले बताए । टोल अनुसार विद्यार्थीहरुलाई विद्यालयमा बोलाएर शिक्षण सिकाई क्रियाकलाप अघि बढाईएको उनले बताए । उनले भने ‘टोल अनुसार कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई बोलाएर शिक्षण गर्न थालेका छौं । बार अनुसार फरक फरक टोलका विद्यार्थीहरुलाई पढाउने गरेका छौं ।’

लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकाको शिक्षण सिकाईमा नकारात्मक प्रभाव परेकाले वैकल्पिक उपाय निकालेर शिक्षण सिकाई क्रियाकलाप अघि बढाइएको प्रधानाध्यापक भट्टले बताए ।

अनलाइन शिक्षण प्रभावकारी नभएकाले शिक्षकहरु बसेर टोलटोलमै पढाउने र कक्षा ६ देखि १० सम्म विद्यालयमै पढाउने निर्णय अनुसार शिक्षण सिकाई अघि बढाइएको उनले बताए । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update