Sagun Khabar
बैतडीमा विद्युत सेवा अनियमित, उपभोक्ता मारमा 

बैतडी –बैतडीमा पछिल्लो समयमा विद्युत सेवा अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् । साँझको समयमा प्रत्येक दिन बत्ती जाने भएकाले निकै अप्ठ्यारो हुने गरेको दशरथचन्द नगरपालिका १ का महेश भट्टले बताए । उनले भने ‘साँझ ७ बजेदेखि बत्ती जान्छ । राती १० बजेपछि मात्रै बत्ती आउँछ । यो बत्तीको हामीलाई के काम ?’

साँझको समयमा बत्ती जाँदा विद्यार्थीहरुलाई समस्या भएको छ भने घरको अन्य काममा समेत बाधा पुग्ने गरेको उनले बताए । दिउँसोको समयमा समेत बत्ती आउने जाने भएकाले विद्युतीय उपकरण सञ्चालनमा समस्या भएको बताइएको छ ।

Atrya hospital

साँझको समयमा विद्युत अनियमित हुँदा साहै्र अप्ठ्यारो हुने गरेको सुर्नया २ का नरेन्द्र बिष्टले बताए । खाना पकाउने, खाना खाने, किताब पढ्ने समयमा विद्युत अवरुद्ध हुने र रातीको समयमा मात्रै आउने भएकाले निकै समस्या हुने गरेको उनले बताए । उनले भने ‘विद्युत अनियमित भएको भएपनि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन् ।’

विद्युत सेवा अनियमित भईरहेकाले विद्युत कार्यालय घेराउ गर्ने पाटनका स्थानीयहरुले चेतावनी समेत दिएका छन् । सामाजिक सञ्जाल मार्फत युवाहरुले विद्युत सेवा नियमित गर्न आग्रह गरेका छन् । ‘विद्युत सेवा अनियमित हुँदा साह्रै समस्या भएको छ । विद्यार्थीहरुलाई झनै समस्या भएको छ ।’स्थानीय लवदेव जोशीले भने, ‘काम गर्ने समयमा विद्युत अवरुद्ध हुन्छ । रातीको समयमा बत्ती आएर के काम हुन्छ ?’

विद्युत प्राधिकरणको गोठलापानीमा रहेको फिडरमा समस्या आएकाले विद्युत सेवा अनियमित भईरहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितण केन्द्रले जनाएको छ । अहिले जिल्लामा भारतको विद्युतबाट आपूर्ती भईरहेको र साँझको समयमा लोड धान्न नसक्ने भएकाले विद्युत अनियमित हुने गरेको नेपाल विद्युत प्राधिकरण बैतडीका सुपरभाइजर माधवप्रसाद लेखकले बताए । 

फिडर मर्मतको काम भईरहेको भएपनि कहिले सम्म यो समस्या समाधान हुन्छ भन्ने कुरा अझै यकिन नभएको प्राधिकरणले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update