Sagun Khabar
बैतडीमा नागरिकलाई सम्झाउँदै मास्क वितरण 

बैतडी –नेपाल मास्क अभियान अन्तर्गत बैतडीमा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले मास्क वितरण गरिरहेका छन् । अभियान अन्तर्गतको आज अन्तिम दिन भएका जिल्लाका सबै जसो ठाउँमा मास्क वितरण गरिएको छ । 

जिल्ला सदरमुकाममा स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल रेडक्रस सोसाइटी लगायतका सरकारी तथा गैरसरकारी निकायहरुले बजार प्लेकार्ड सहित मास्क वितरण गरेका छन् । बिना मास्क घर बाहिर ननस्किन सुझाव दिँदै नागरिकलाई मास्क वितरण गरिएको हो । 

Atrya hospital

महामारी रोकथाम र नियन्त्रणमा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मूल नारा सहित नेपाल मास्क अभियान अन्तर्गत जिल्लाको गोठलापानी,पाटन, सतबाँझ लगायतका क्षेत्रमा सर्वसाधारणलाई सम्झाई बुझाई मास्क वितरण गरिएको छ । 

कोरोना भाइरसको जोखिम कायमै रहेकाले त्यसबाट बच्न र बचाउनका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘कोरोनाको जोखिम कायमै रहेको छ । त्यसैले स्वास्थ्यका मापदण्ड परिपालना गर्न हामीले आग्रह गरिरहेका छौं ।’

जिल्लाभरीका प्रहरी युनिटबाट नेपाल मास्क अभियान अन्तर्गत प्रहरीले मास्क वितरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । उनले भने ‘कोरोना भाइरसको जोखिमबाट बच्नका लागि मास्काको प्रयोग गर्नुपर्छ भन्ने कुराको जानकारी दिन र स्वास्थ्यका मापदण्ड पालनामा नागरिकलाई जिम्मेवार बनाउन मास्क वितरण गरेका हौं ।’

यस्तै सबै स्थानीय तहका स्वास्थ्य शाखा, सबै स्वास्थ्यचौकी र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका संघसंस्थाहरुले मास्क वितरण गरिरहेका स्वास्थ्य प्रमुख भट्टले बताए ।  
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update