Sagun Khabar
बैतडीमा संसदको झल्को दिने ‘नमूना युवा संसद’ 

बैतडी –सभामुख दीपशिखा लावडले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर संसद अधिवेशन शुरु भएको जानकारी दिइन् । त्यसपछि गडगडाहट तालीका साथ नमूना युवा संसदको बैठक शुरु भयो । 

बैठकको शुन्य र बिशेष समयमा युवा सांसदहरुले विभिन्न प्रश्न राखे । युवाहरुका लागि राज्यले केही गर्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दलका सांसद दिनेशप्रसाद जोशीले सरकारको आलोचना गरे । नमूना युवा संसदमा उनले युवाहरुका लागि सरकारले स्वरोजागरका कार्यक्रम ल्याउन नसकेको, सीमा रक्षा गर्न नसकेको लगायतका आरोप लगाए । 

यस्तै युवा सांसद शान्ति पन्तले युवा महिलाको स्वास्थ्यका क्षेत्रमा सरकारले ध्यान नदिएको आरोप लगाइन् । उनले भनिन् ‘सरकारले किशोरकिशोरी तथा युवाहरुको स्वास्थ्यको बिषयमा केही ध्यान दिन सकेको छैन् । अहिले पनि नागरिकले आधारभूत स्वास्थ्य सेवा पाएका छैनन् ।’

Atrya hospital

नमूना युवा संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री जयन्ती अवस्थीले सरकारले महिला तथा किशोरीहरुको स्वास्थ्यका लागि काम गरिरहेको बताइन् । 

यस्तै युवा तथा खेलकुद मन्त्री दमन्ती भट्टले युवाको क्षेत्रमा सरकारले काम गरिरहेको दाबी गरिन् । संसदमा बोल्दै श्रम तथा रोजगार मन्त्री दुरा नाथले सरकारले रोजगारी कार्यक्रम सिर्जजा गरेको बताइन् । 

यस्तै नमूना युवा संसदमा सूचना केन्द्र स्थापनाका लागि टेबल गरिएको विधेयक सर्वसम्मत पारित गरिएको थियो । नमूना युवा संसदमा उठेका प्रश्नको जवाफ दिँदै युवा सरकारका प्रधानमन्त्री करन लावडले सरकारले युवाहरुको हरेक क्षेत्रमा सहभागिता सुनिश्चित गर्नका लागि काम गरिरहेको बताए । 

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरिएको नमूना युवा संसदमा जिल्लाका विभिन्न सरोकारवालाहरुको सहभागिता थियो । नमूना युवा संसदले संसदकै झल्को दिएकाले युवाहरुलाई नेतृत्वका लागि प्रेरित गरेको राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । उनले भने ‘नमूना युवा संसदले युवाहरुको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ । यसले उनीहरुलाई संसदीय अभ्यासमा पोख्त बनाउन सहयोग गर्दछ ।’

उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले युवा संसदमा युवाहरुले उठाएका प्रश्न र छलफल निकै महत्वपूर्ण भएकाले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए । 

सोही कार्यक्रममा दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले युवा संसदमा उठाएका बिषयमा टेकेर युवाहरुका लागि नगरपालिकाले केही कार्यक्रम अघि ल्याउने बताए । 

जिल्ला युवा समितिका अध्यक्ष सुरेश सेरलाले युवाहरुको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रम अन्य ठाउँमा पनि सञ्चालन गर्ने बताए । यस्तै नेपाल रेडक्रस सोसाइटीका सदस्य रमेश भण्डारीले यस्ता खालका कार्यक्रमले युवाहरुमा नेतृत्व गर्ने सीप र क्षमताको विकास हुने बताए । 

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), फाया नेपाल धनगढी कैलाली, नेपाल रेडक्रस सोसाइटी, जिल्ला युवा समिति लगायतका संस्थाहरुको सहयोगमा नमूना युवा संसदको आयोजना गरिएको हो । युवाहरुको हरेक क्षेत्रमा प्रतिनिधित्व गराउन दिवसको अवसर पारेर यो कार्यक्रम गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update