Sagun Khabar
महाकाली लोकमार्गको धरमघरमा पहिरोको जोखिम कायमै 

बैतडी –दार्चुला –बैतडी जोड्ने महाकाली लोकमार्गको बैतडीको सुर्नया ३ स्थित धरमघरमा पहिरोको जोखिम कायमै रहेको छ । मोड सुधार कार्यक्रम अन्तर्गत धरमघरमा मोड काटिएपछि खस्न थालेको पहिरोले दिनहुँ जसो समस्या निम्त्याउने गरेको चालकहरुले बताएका छन् । 

धरमघरमा खस्ने पहिरोका कारण घण्टौं सम्म सडकमै बस्नुपर्ने बाध्यता रही आएको चालक महादेव कपाडीले बताए । महाकाली राजमार्ग अन्तर्गत धरमघरको पहिरोका कारण यात्रुहरुलाई समयमै गन्तव्यमा पुग्न समस्या हुने गरेको उनले बताए । उनले भने ‘पहिरोका कारण यो राजमार्गमा जिप चलाउन निकै समस्या हुने गरेको छ । कतिखेर पहिरो खस्ने हो थाहा नै हुँदैन् ।’

Atrya hospital

पानी पर्ने बित्तिकै पहिरो खस्न शुरु हुने र पहिरो पन्छ्याउन समय लाग्ने भएकाले यात्रुहरुलाई समस्या हुने गरेको छ । दार्चुलाबाट अन्य जिल्लाका लागि छुट्ने र दार्चुला जाने गाडीहरु सोही मार्ग भएर जाने हुँदा उनीहरुलाई झन् समस्या हुने गरेको छ । 

पहिरोका कारण एम्बुलेन्स समेत बीचबाटोमै रोक्नुपर्ने बाध्यता रही आएको बैतडीको दोगडाकेदार ३ का पुष्कर जोशीले बताए । उनले भने ‘पहिरोका कारण अत्यावश्यक कामका लागि हिडेकाहरु समेत अलपत्र पर्ने गरेका छन् । एम्बुलेन्स समेत घण्टौं सम्म रोक्नुपर्ने बाध्यता रही आएको छ ।’

धरमघरमा मोड सुधार कार्यक्रम अन्तर्गत मोड काटेपछि पहिरो खस्न थालेको र पहिरो सफा गर्ने कार्य नियमित रुपमा हुने गरेको सडक डिभिजन कार्यालयले दाबी गरेको छ । तर पहिरो खसेको घण्टौं पछि मात्रै पहिरो पन्छ्याउन पहल गरिने स्थानीयहरुको गुनासो रही आएको छ । स्थानीय निर्माण व्यवसायीहरुसंग सहकार्य गरेर सो ठाउँको पहिरो पन्छ्याउने गरिएको सडक डिभिजन कार्यालय पाटन बैतडीका सूचना अधिकारी हरिशप्रसाद जोशीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update