Sagun Khabar
बैतडीका विभिन्न स्थानमा टेलिकमको नेटवर्क नहुँदा समस्या 

बैतडी –बैतडीका विभिन्न स्थानमा नेपाल टेलिकमको जीएसएम मोबाइल सेवा अवरुद्ध हुँदा स्थानीय नागरिक समस्यामा परेका छन् । बिहान बेलुका टेलिकमको नेटवर्क नहुँदा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको पुर्चौंडी नगरपालिका वडा नं ७ का वागमती ऐरले बताइन् । उनले भने ‘घाम नपरेको दिन मोबाइलमा नमस्तेको नेटवर्क नै हुँदैन् । यसले गर्दा जरुरी कामका लागि समेत सञ्चार विहिन हुनु परेको छ ।’

बर्षात शुरु भएसंगै पुर्चौंडीको कुवाकोटमा रहेको टावरले काम गर्न छोडेको स्थानीयहरुले बताएका छन् । दिउँसो घाम लागेको बेला मात्रै नेटवर्कले काम गर्ने स्थानीय गायत्री भट्टले बताइन् । उनले भनिन् ‘नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेको धेरै भईसकेको छ । अहिले सम्म नेटवर्क सुधार गरिएको छैन् ।’

Atrya hospital

नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको स्थानीय धनसिंह साउँदले जानकारी दिए । 

यस्तै सुर्नया ६को धुरामा रहेको टावरले काम नगर्दा सुर्नया र पाटन नगरपालिकाका विभिन्न स्थानमा फोन सेवा अवरुद्ध भएको पाटन ९ का मोहन बिजलेले जानकारी दिए । उनले भने ‘टेलिकमको नेटवर्क नआउँदा साह्रै समस्या भएको छ । समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेको भएपनि सरोकारवाला निकायले कुनै मतलब गरेका छैनन् ।’

टावरमा चार्जका लागि राखिएका सोलारले काम नगर्दा नेटवर्कमा समस्या आएको हुन सक्ने नेपाल टेलिकम बैतडीले जनाएको छ । लगातारको बर्षाले सोलार चार्ज हुन नपाउँदा पावरको समस्याले नेटवर्क नआउने गरेको हुन सक्ने नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update