Sagun Khabar
नेपाल मास्क अभियान अन्तर्गत बैतडीमा रेडक्रस र प्रहरीद्वारा मास्क वितरण 

बैतडी –नेपाल मास्क अभियान अन्तर्गत बैतडीका विभिन्न स्थानमा मास्क वितरण गरिएको छ । सदरमुकाममा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडी र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा आज मास्क वितरण गरेका छन् । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका कार्यक्रम संयोजक कमलापति भट्टले बताए । 

महामारी रोकथाम र नियन्त्रणमा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै हो आजको आवश्यकता भन्ने मूल नारा सहित अभियान शुरु गरिएको हो । यही शुक्रबार सम्म सञ्चालन हुने अभियानमा रेडक्रसको पनि सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए । उनले भने ‘अहिले पनि कोरोना भाइरसको जोखिम कायमै रहेको छ । त्यसैले हामीले स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ । मास्क लगाउनुपर्छ भन्ने कुरा जानकारी दिनका लागि मास्क अभियानमा सरीक भएका हौं ।’

Atrya hospital

यस्तै जिल्ला प्रहरी कार्यालयले पनि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मास्क अभियान सहयोग गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । 

यस्तै नेपाल मास्क अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय पाटनले पनि पाटन नगरपालिका वडा नं ६ का विभिन्न ठाउँमा मास्क वितरण गरेको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले मास्कको प्रयोग गर्नुपर्ने कुराका बिषयमा नागरिकलाई जानकारी दिन मास्क वितरण गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । 

यसअघि आइतबार स्वास्थ्य कार्यालय नेपाल मास्क अभियानको अवसरमा सदरमुकाममा मास्क वितरण गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update