Sagun Khabar
जंगली जनावरबाट बाली जोगाउनै धौ धौ 
फोटो : जंगली जनावरले बालीनाली नष्ट गर्न थालेपछि सुर्नया २ मा बाँझो छोडिएको खेत

बैतडी –जिल्लाको दोगडाकेदार गाउँपालिका ३ सिल्लका केशरसिंह बिष्टलाई मकै जोगाउन टहरोमा बस्न थालेको एक महिना बढी भईसकेको छ । तर पनि खेतको मकै उनले जोगाउन सकेका छैनन् । ‘रातीको समयमा मकै जोगाउन टहरोमै बस्छु । तर पनि कतिखेर निद्रा लागिहाल्छ त्यही मौका पारेर जंगली बँदेलले मकैबाली सखाप पारेको छ ।’उनले भने ‘मकैबाली जोगाउन निकै मुस्किल भएको छ । खेतमा लगाएको सबै बाली सखाप पारेको छ ।’

सोही ठाउँका किस्ने महर पनि खेतमा लगाएको मकै जंगली जनावर खाईदिएपछि चिन्तामा परेका छन् । उनले भने ‘माटोको माया लाग्छ । त्यसैले प्रत्येक बर्ष मकै छर्ने गरेका छौं । खेतमा छरेको मकै भित्र्याउन पाइदैन् । हामीलाई भोकमरी हुन थालेको छ ।’

जिल्लाका प्रत्येक ठाउँमा जंगली बँदेलले मकैमा नोक्सानी गर्न थालेपछि किसानहरु हैरान बनेका छन् । मकै जोगाउन विभिन्न उपाय अपनाएपनि जोगाउन नसकिएको सुर्नया २ ग्वानीका नरेन्द्र बिष्टले बताए । उनले भने ‘मकै जोगाउन नसकिएपछि अब खेत बाँझै छोड्ने योजनामा छौं । कतिपय ठाउँमा खेत बाँझै छोडेका छौं ।’

Atrya hospital

मकैबाली जोगाउनका लागि दिनरात पहरा दिएपनि कुनै सीप नचलेको दोगडाकेदार ३ सिल्लकी हरिना चन्दले बताइन् । उनले भनिन् ‘सबै घरबाट दिनरात गरेर मकै पहरा दिईरहेका छौं । तर जोगाउन सकिएको छैन् । अब भोकमरी हुने अवस्था आएको छ ।’

बाँदरका कारण खेत बाँझै 
जिल्लाको सुर्नया २ ग्वानीका केही किसानहरुले एकदुई बर्ष यता खेत बाँझै छोड्न थालेका छन् । बाँदरले बारीमा लगाएको सबै बालीनाली नष्ट गर्न थालेपछि खेत बाँझै छोड्न थालेको स्थानीय नरेन्द्र बिष्टले बताए । उनले भने ‘खेतमा लगाएको अन्न भित्र्याउन पाइदैन् । त्यसैले खेत बाँझै छोड्नुको विकल्प छैन् । मिहनेत गरेर लगाएको बाली भित्र्याउन नपाउँदा समस्या हुन्छ ।’

जिल्लाको दशरथचन्द नगरपालिका,सुर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका लगायतका ठाउँमा बाँदरले सबै बाली नष्ट गर्न थालेपछि खेत बाँझै छोड्न थालेको किसानहरुले बताएका छन् । 

मकै उत्पादनका लागि सुर्नया २ को ग्वानी उपयुक्त ठाउँ भएपनि अहिले बाँदरका कारण खेत बाँझै छाड्नुपर्ने अवस्था रही आएको बिष्टले बताए । बाँदरकै कारण प्रशस्त मकै उब्जनी हुने खेत बाँझै छोडेको उनले सुनाए । 

बाँदरकै कारण दशरथचन्द नगरपालिकाका पनि विभिन्न स्थानमा खेत बाँझै छोडिएका छन् । बाँदरले बालीनाली भित्र्याउनै नदिने भएपछि स्थानीयहरुले खेत बाँझै छोडेको स्थानीय डम्मर टमाटाले बताए । बाँदरहरुले फलफूल,तरकारी र अन्नबाली सखाप पार्ने गरेको उनले बताए । उनले भने ‘दशरथचन्द नगरपालिकाको वडा नं ५ , ८ लगायतका क्षेत्रमा गएको आठदश बर्ष यता बालीनाली लगाउन छोडिएको छ । बाँदरले घरभित्रको अन्न समेत नष्ट लैजाने गरेको छ ।’

जंगली जनावरका कारण किसानहरु आफ्नो पेशाबाट पलायन हुने अवस्था आएको भएपनि सरकारले केही योजना ल्याउन सकेको छैन् । न त किसानहरुलाई क्षतिपूर्ती दिने गरेको छ । न त बालीनाली जोगाउने योजना नै । 

प्रकाशित मिति: सोमबार, साउन २५, २०७८  ०७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update