Sagun Khabar
बैतडीको झाडबोमा खानेपानी पुगेपछि स्थानीबासी खुसी 

बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ७ को झाडबो टोलमा लिफ्टिङ प्रणाली मार्फत खानेपानी पुगेपछि स्थानीयबासी खुसी भएका छन् । बर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका सो ठाउँका बासिन्दा गाउँमा खानेपानी पुगेपछि खुसी भएका हुन् । 

सुर्नया गाउँपालिका, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजना र स्थानीयहरुको जनश्रमदानमा खानेपानी योजना सम्पन्न भएको अनिरुद्र ग्रामीण सुधार केन्द्रका कार्यक्रम निर्देशक पदमराज अवस्थीले बताए । उनले भने ‘गाउँमा खानेपानी पुगेपछि अहिले स्थानीयहरु निकै खुसी भएका छन् ।’ 

Atrya hospital

१ करोड ८६ लाखको लागतमा खानेपानी योजना सम्पन्न भएको उनले बताए । साढे आठ किलोमिटर उचाँईमा सोलार प्यानल प्रयोग गरेर पानी तानिएको अवस्थीले बताए । 

खानेपानीका लागि निकै टाढा जानुपर्ने बाध्यता रही आएकोमा अहिले घरघरमै धारा बनेपछि गाउँलेहरु निकै खुसी भएका खानेपानी उपभोक्ता समितिका अध्यक्ष बहादुरसिंह महराले बताए  । उनले भने ‘हामीले खानेपानीका लागि निकै समस्या भोग्नुपरीरहेको थियो । अब गाउँमा खानेपानी पुगेपछि खुसी भएका छौं । अहिले घरघरमा धारा बनेका छन् ।’

सो खानेपानी योजना अन्तर्गत १५६ घरधुरीमा धारा बनेका महराले बताए । पानीको समस्या झेल्दै आएका नागरिकका घरघरमा खानेपानीका धाराबाट पानी आउन थालेपछि निकै खुसी लागेको स्थानीय नरबहादुर महराले बताए । उनले भने ‘हामी हाम्रो गाउँमा यसरी पानी आउला भनेर सोचेका थिएनौं । तर गाउँमा खानेपानीको व्यवस्था भएको छ । हामीलाई धेरै खुसी लागेको छ ।’

पानीकै लागि भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको महराले बताए । यो भन्दा पहिला खानेपानीको जोहो गर्न घरको एक सदस्यले पानीकै लागि समय व्यतित गर्नुपर्ने अवस्था रहेको थियो भने गाउँमै खानेपानी पुगेपछि निकै खुसी लागेको अर्का स्थानीय बेलु महराले बताइन् । उनले भनिन् ‘खानेपानीको जोहो गर्न हामी महिलाहरुलाई निकै समस्या रही आएको थियो । घरघरमा खानेपानी पुगेपछि हामी धेरै खुसी भएका छौं ।’
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०६:४९
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update