Sagun Khabar
पहिरोले अवरुद्ध सडक गाउँका युवाले श्रमदानमा सफा गरे 

बैतडी–पहिरोले अवरुद्ध भएको सडक युवाहरुले श्रमदानमा सफा गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोडदेखि ढोलेसम्मको सडक स्थानीय युवाहरु मिलेर श्रमदानमा सफा गरेका हुन् । 

सुर्नया गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष भानबहादुर बोहरा समेतको सहभागितामा युवाहरुले मिलेर ५ किलोमिटर जति सडक सफा गरेको स्थानीय समेत रहेका शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बीरबहादुर बोहराले बताए । 
सतबाँझ–श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि ढोले गाउँसम्मको सडकमा ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध भएको थियो । बर्षाका कारण खसेको पहिरोले अवरुद्ध सडक आंशिक रुपमा सञ्चालनमा ल्याइएको बोहराले बताए । 

Atrya hospital

गएको शनिबार वडा अध्यक्ष बोहरासहित गाउँका युवाहरु मिलेर मोटरसाइकल चलाउन मिल्ने गरेर सडक सफा गरिएको हो ।

उक्त सडक डबल कटिङ गरिएकाले ठाउँठाउँमा ठूलो पहिरो खसेको छ । जिप तथा अन्य सवारी साधन सञ्चालनका लागि डोजरले पहिरो पन्छ्याउनुपर्ने बोहराले बताए । आफूहरुले तत्कालका लागि मोटरसाइकल सञ्चालन गर्न सम्म सडक सफा गर्न सकेको उनले बताए । 

युवाहरु मिलेर गर्न सकिने कामका लागि सरकारको मुखमात्रै ताक्नु ठीक नभएकाले आफूहरुले श्रमदानमा सडक सफा गरेको उनले बताए । यसले युवाहरुमा समाज सेवाको भावना समेत विकास हुने उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १७:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update