Sagun Khabar
सुख्खा फलफूल विकास केन्द्रले बिजु ओखरका बिरुवा उत्पादन नगर्ने 

बैतडी–बैतडीको सतबाँझस्थित सुख्खा फलफूल विकास केन्द्रले यो बर्षदेखि बिजु ओखरका बिरुवा उत्पादन नगर्ने भएको छ । दाँते ओखरका बिजु बिरुवा उत्पादन गर्दा धेरैजसो हाडे निस्किन थालेपछि कलमी बिरुवामात्रै उत्पादन गर्ने योजना रहेको सुख्खा फलफूल विकास केन्द्रले जनाएको छ । 

बिजु ओखरको बिरुवामा बढीजसो हाडे ओखर निस्किन थालेपछि कलमी बिरुवामात्रै उत्पादन गरिने सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । बिजु बिरुवा रोपेका किसानहरुबाट गुनासो आउन थालेपछि बिजु बिरुवा उत्पादनको काम रोकिएको उनले बताए । 

Atrya hospital

अब सबै फलफूलका कलमी बिरुवा उत्पादन गर्ने योजना रहेको प्राविधिक सहायक खड्काले बताए । सुख्खा फलफूल विकास केन्द्रले चालु आर्थिक बर्षमा फलफूलका ४५ हजार कलमी बिरुवा उत्पादन गर्ने लक्ष्य राखेको छ । 

सुख्खा फलफूल विकास केन्द्रको नर्सरीमा ओखर, स्याउ, नासपाती, आरु, आरुबखडा, खुर्पानी, कागजीबदाम, कटुस, हेजलनट लगायतका बिरुवा उत्पादन गरिने प्राविधिक सहायक खड्काले बताए । 

निजी नर्सरीहरुलाई पनि बिजु ओखरका बिरुवा उत्पादन नगर्न आग्रह गरिएको खड्काले बताए । नर्सरी सञ्चालकहरुलाई कलमी बिरुवा उत्पादन गर्नका लागि आग्रह गरिएको उनले बताए । 

सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा ३० ओटा निजी नर्सरी दर्ता भएका छन् । दर्ता भएका नर्सरीहरुले पनि फलफूलका बिरुवा उत्पादन गर्दै आएका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update