Sagun Khabar
बैतडीमा डेंगुको जोखिम बढ्यो, एकै गाउँका ९ जनामा डेंगु संक्रमण पुष्टि 

बैतडी–बैतडीमा डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ । जिल्लाको पाटन नगरपालिका –५ वसन्तपुर कद्वारका ९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । एकै गाउँका ४ जनामा आइतबार डेंगु संक्रमण पुष्टि भएपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रबाट सोमबार स्वास्थ्यकर्मीहरुको टोली गाउँमै पुगेको थियो । 

सोमबार ज्वरोका बिरामीहरुको परीक्षण गर्दा थप पाँच जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए । एकै गाउँको नौ जनामा डेंगु संक्रमण पुष्टि हुनु निकै चुनौतीपूर्ण अवस्था रहेको भट्टले बताए । 

बैतडीमा गएको वैशाखदेखि भदौसम्म ७० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सूचना अधिकारी विपिन लेखकले बताए । 

Atrya hospital

डेंगु प्रभावित क्षेत्रमा डेंगु रोगका बारेमा सचेतना फैलाउनुका साथै सरसफाइ गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । 

जिल्लाभरी डेंगु संक्रमण रोकथामका लागि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान समेत सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी लेखकले जानकारी दिए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । डेंगु रोगको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । 

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने गर्दछन् । 

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा जनस्वास्थ्य निरीक्षक भट्टले जोड दिए ।

बैतडीका गाउँगाउँमा ज्वरोका बिरामीहरु रहेका छन् । ज्वरोका बिरामीहरुमा डेंगु समेत हुन सक्ने भएकाले नजिकको स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न समेत स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update