Sagun Khabar
बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि 

बैतडी–बैतडीमा एकै गाउँका चार जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जिल्लाको पाटन नगरपालिका–५ वसन्तपुर कद्वाराका चार जनामा डेंगु संक्रमण पुष्टि भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिए । 

डेंगु संक्रमण पुष्टि भएका मध्ये एकजना बाहिरबाट आएका र अरु तीन जना गाउँमै बसोबास गर्ने बुझिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । गाउँमा अरु पनि ज्वरोका बिरामी भएकाले डेंगु संक्रमितको संख्या थपिन सक्ने उनले बताए । 

Atrya hospital

एकै गाउँमा चार जनामा डेंगु संक्रमण पुष्टि भएपछि गाउँमै गएर चेकजाँचको काम गर्ने तयारी भइरहेको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । पाटन नगरपालिकासंग सहकार्य गरेर डेंगु प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी भएको उनले बताए । 

एडीस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेंगु सर्ने गर्दछ । । बर्षातको समयमा पानी जम्ने खाल्डाखुल्डी हुँदा लामखुट्टेको वृद्धि विकास बढी हुने गर्दछ । 

डेंगु संक्रमण भएमा मानिसलाई कडा खालको ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी तथा मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिन्छन् । यसका साथै नाक, गिजा र पेटबाट रगत बग्नेजस्ता कडा खालका लक्षणसमेत देखा पर्ने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए । 

यस्ता खालका लक्षण देखिएमा डेंगुको जाँच गर्नु आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । डेंगुको जाँच नगरीकनै जथाभावी औषधि सेवन गर्दा अन्य समस्या समेत निम्तिने भएकाले यो तर्फ सबै नागरिक सचेत हुनुपर्नेमा भट्टले जोड दिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update