Sagun Khabar
बैतडीमा आप्रवासी कामदारको एचआइभी परीक्षण गरिने 

बैतडी–बैतडीमा रोजगारीका लागि भारत गएका आप्रवासी कामदारको एचआइभी परीक्षण गरिने भएको छ । एचआइभी रोकथामको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुरा (एमपीडिएस)ले आप्रवासी कामदारहरुको एचआइभी परीक्षण गर्ने भएको हो । 

बैतडीबाट रोजगारीका लागि भारत गएर फर्केका आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको एचआइभी परीक्षण गरिने कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिए । ग्लोबल फण्डको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा एमपीडीएसले सञ्चालन गरिरहेको एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत उनीहरुको परीक्षण गरिने कार्यक्रम संयोजक पन्तले बताए ।

Atrya hospital

जिल्लाका १० ओटै स्थानीय तहमा ३ हजार ४५० जना आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको एचआइभी परीक्षण गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पन्तले बताए । आगामी जनवरी २०२५ सम्ममा एचआइभी परीक्षणको कार्य गरिने उनले बताए । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गरेर एचआइभी परीक्षणको कार्य गरिने छ भने बाँकी स्थानीय तहहरुमा मोबाइल क्याम्पको आयोजना गरेर एचआइभी परीक्षणको कार्य गरिने उनले बताए । 

भारतमा रोजगारीका लागि गएका आप्रवासी कामदार र उनीहरुका परिवारलाई एचआइभी, मलेरिया, क्षयरोग र कोभीडका बिषयमा जानकारी दिनुका साथै ती रोगहरुको परीक्षण गरिने बताइएको छ । 

असुरक्षित यौन सम्पर्कबाट सर्ने एचआइभीका बिषयमा ज्ञान नहुँदा धेरै बिरामीहरु समाजमा लुकेर रहेका हुन सक्ने भएकाले एचआइभी संक्रमितहरुलाई उपचारको दायरामा ल्याउन एचआइभी परीक्षण गर्ने तयारी भएको बताइएको छ । 

बैतडीमा अहिले १ सय २६ जना एचआइभी संक्रमितहरु उपचारमा रहेका छन् । उनीहरु नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेका बताइएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update