Sagun Khabar
पाटन–पञ्चेश्वर सडक सुधारको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र 

बैतडी–बैतडीको पाटन–पञ्चेश्वर सडक सुधारको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । 

जिल्लाको तल्लोसोराड क्षेत्र जोड्ने मुख्य सडकको रुपमा रहेको पाटन–पञ्चेश्वर सडकको ठाउँठाउँमा खाल्डाखुल्डी, पहिरोले सवारी साधन सञ्चालनमा समस्या भएको भन्दै दुई जना युवाले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई बुधबार ज्ञापन पत्र बुझाएका हुन् । 

युवा समाजसेवी महेशदत्त भट्ट र साहित्यकार तथा समाजसेवी कर्ण दयालले आज जिल्ला प्रशासन कार्यालयमै पुगेर सडकको दुरावस्थाका बिषयमा जानकारी गराउँदै सुधारको माग गरेका हुन् । 

दशैं तथा तिहार जस्ता ठूला चाडपर्व नजिक आएका र पाटन–पञ्चेश्वर सडकमा सवारी साधन सञ्चालन गर्न निकै असहज रहेकाले सडक मर्मतको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको युवा समाजसेवी महेशदत्त भट्टले बताए । 

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रमा पहिरो गएको ठाउँमा पर्खाल लगाउनुपर्ने र सडकमा रहेको ढुंगा माटो हटाउनुपर्ने माग गरिएको छ । यस्तै सडक हेरचाहका लागि लेन्थवर्कर परिचालन गर्नुपर्ने र पाटन –पञ्चेश्वर सडकको शुरुवाती बिन्दुमा कालोपत्रे गर्नुपर्ने माग गरिएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्र सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय, पाटन नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकालाई बोधार्थ दिइएको छ । 

sadk-2-1726060190.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update