बैतडी : रसुवास्थित लाङटाङ हाइड्रोपावरमा कार्यरत बैतडीका एक युवक भीषण बाढी आएपछि सम्पर्कविहीन भएका छन्। बैतडीको सुर्नया गाउँपालिका वडा नं. ५ बिष्टपालीका करिब २४, २५ वर्षीय केशव बिष्ट सम्पर्कविहीन भएका हुन्।
रसुवामा आएको विनाशकारी बाढीपछि उनी परिवारको सम्पर्कमा नरहेको पारिवारिक स्रोतले जनाएको छ। सुर्नया गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बिष्टका अनुसार हिजोसम्म परिवारको निरन्तर सम्पर्कमा रहेका बिष्ट आज बिहानदेखि भने पूर्ण रूपमा सम्पर्कविहीन भएका छन्।
विगत दुई वर्षदेखि सो हाइड्रोपावरमा कार्यरत बिष्टको हालसम्म कुनै अवस्था पत्ता लाग्न सकेको छैन। बाढीका कारण ठूलो क्षति पुगेको उक्त क्षेत्रमा उनको खोजी कार्य र सम्पर्कको प्रयास जारी राखिएको छ, तर अहिलेसम्म उनको स्थितिबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन।




